‘यही सरकारले ल्याउने बजेट अमान्य’

पछिल्लोपल्ट अपडेट गरिएको: 30.10.12, 19:31 NST सम्मका समाचार

प्रमुख दलहरुले बैठकलाई निरन्तरता दिने सहमति गरेका छन्

विपक्षी दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको भन्दै यदी जबरजस्ती ल्याए त्यो आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्।

विवादित राजनीतिक विषयमा सहमति खोज्ने प्रयास स्वरुप बसेको बैठकमा विपक्षी दलले सम्भावित पूर्ण बजेटको तयारिप्रति शुरुमै आपत्ति जनाएपछि एकीकृत माओवादीले बजेट संवेदनशिल विषय भएकाले जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको बताइएको छ।

गत साउनमा ल्याइएको एक तृतीयांश बजेट कात्तिक मसान्तमा सकिदैछ।

असन्तुष्टि

"यो सरकार बजेट ल्याउन लायक छैन, हामीलाई मान्य हुँदैन, त्यो हामीले स्पष्ट भनिसकेका छौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली काँग्रेस

सत्तारुढ दलहरुको गठबन्धनले सोमबार मात्र पूर्ण बजेट ल्याउने निर्णय गरेकाले त्यसबाट थप चिढिएर हुन सक्छ, प्रमुख दलको बैठकमा उपस्थित विपक्षी दलका नेताहरूले त्यसप्रति तीव्र असन्तुष्टि जनाएका थिए।

काँग्रेस र एमालेका नेताहरुले कात्तिक मसान्तभित्र सहमतिको नयाँ सरकार गठन गर्ने र त्यो सरकारले मात्र पूर्ण बजेट ल्याउने अडान दोहोराए।

बैठकमा उपस्थित नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “यो सरकार बजेट ल्याउन लायक छैन, हामीलाई मान्य हुँदैन त्यो हामीले स्पष्ट भनिसकेका छौं।”

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले विद्यमान राजनीतिक र संवैधानिक संकट समाधानका लागि सात बुँदे प्रस्ताव राख्दै नयाँ सरकार गठन भएपछि त्यो सरकारले मात्र बजेट ल्याउने र चुनाव पनि गराउने धारणा राखेका छन्।

"यो सरकारलाई बजेट ल्याउने अधिकार छैन, यदि बजेट ल्याउनु छ, राजनीतिक र संवैधानिक संकट समाधान गर्नु छ भने नयाँ सरकार आउनु पर्छ"

माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं एमाले नेता

बीबीसीसँग कुरा गर्दै नेता नेपालले भने, “यो सरकारलाई बजेट ल्याउने अधिकार छैन, यदि बजेट ल्याउनु छ, राजनीतिक र संवैधानिक संकट समाधान गर्नु छ भने नयाँ सरकार आउनु पर्छ।”

तर्क

विपक्षी दलहरुले काम चलाउ सरकारले गरिरहेका विभिन्न निर्णय र पूर्ण बजेटको तयारीको विरोध गरेपछि एकीकृत माओवादीले त्यो छलफलको एजेण्डा नै नभएको तर्क राखेको थियो।

बजेट र संवैधानिक निकायमा नियुक्ती लगायत विषयमा प्याकेजमै सहमति खोज्ने कुराकानी चलिरहेकाले ती विषयमा विवाद नझिक्न विपक्षी नेताहरूलाई आग्रह गरिएको सो दलले जनाएको छ।

"बजेट जस्तो संवेदनशील विषय उहाँहरुले रोक्नु हुन्छ जस्तो लाग्दैन, तैपनि बजेट र संवैधानिक निकायमा नियुक्ती गर्ने विषय सहमतिमै हुने कुरा हुन्"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

उक्त पार्टीका प्रवक्ता अग्नी सापकोटाले प्याकेजमा सहमतिको प्रयास जारी रहेकाले विपक्षी दलहरुले बजेटमा बाधा पु-याउन नहुने बताए।

सापकोटाले भने, “बजेट जस्तो संवेदनशील विषय उहाँहरुले रोक्नु हुन्छ जस्तो लाग्दैन, तैपनि बजेट र संवैधानिक निकायमा नियुक्ती गर्ने विषय सहमतिमै हुने कुरा हुन्।”

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले केही पहिले राष्ट्रपति रामवरण यादव, काँग्रेस र एमालेका शीर्ष नेताहरुसमक्ष राखेको प्रस्ताव मंगलबारको बैठकमा पनि पेश गरेका थिए।

तर यसअघि जस्तै उनको त्यो प्रस्तावलाई काँग्रेस एमालेका नेताले खासै महत्व नदिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।