सडक विस्तारका कामहरुको अनुगमन

पछिल्लोपल्ट अपडेट गरिएको: 03.11.12, 21:21 NST सम्मका समाचार
काठमाण्डुको एक सडक

सबै सडकहरु चौडा नभएकोले काठमाण्डुको ट्राफिक समस्या जटिल छ

सरोकारवाला निकायहरुबीच समन्वयको अभावका कारण काठमाण्डू उपत्यकाको सडक विस्तारको काममा ढिलाइ भइरहेको अधिकारीहरुले बताएका छन्।

सडक विस्तारको कामलाई तीव्रता दिन प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सरोकारवाला निकायका अधिकारीहरुले विस्तार कार्यको स्थलगत निरिक्षण गरे लगत्तै सडक विस्तारमा प्रत्यक्ष संग्लघ्न अधिकारीहरुको त्यस्तो भनाइ आएको हो।

उनीहरुका अनुसार यही गतिमा काम हुने हो भने उपत्यकामा ४०० सय किलोमिटर सडक विस्तारको काम पुरा गर्न वर्षौं लाग्न सक्छ।

अत्यन्त सुस्त गतिमा अघि बढिरहेको काठमाण्डूको सडक विस्तार अभियानका कारण सडक झन अव्यवस्थित बनेको र शहरको सौन्दर्य पनि बिग्रिएको भन्ने गुनासो बढ्दै गर्दा शनिबार प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको अगुवाइमा सरोकारवाला मन्त्रालय र निकायका अधिकारीहरुले सडकहरुको स्थलगत निरिक्षण गरे।

निर्देशन

अनुगमनपछि एक सय स्थानमा भइरहेका सडक विस्तारका काम र समस्याबारे उनीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराएका थिए।

छलफलका क्रममा प्रधानमन्त्रीले सडक विस्तारको कामलाई छिटो अघि बढाउन निर्देशन दिएको अधिकारीहरुले जनाएका छन्।

तर सरोकारवाला निकायहरुबीच समन्वयको अभावमा त्यो काम सोचेजति सजिलो नभएको उपत्यका विकास प्राधिकरणका काठमाण्डू जिल्ला आयुक्त भाइकाजी तिवारीले बीबीसीलाई बताए।

"उत्तरदायित्व बहन गर्ने बेलामा दोषारोपण गर्ने र भित्र भित्र समन्वयको अभावले गर्दा काम गर्न कठिन भएको छ"

भाइकाजी तिवारी, जिल्ला आयुक्त, उपत्यका विकास प्राधिकरण

“उत्तरदायित्व बहन गर्ने बेलामा दोषारोपण गर्ने र भित्र भित्र समन्वयको अभावले गर्दा काम गर्न कठिन भएको छ।”

अधिकारीहरुका अनुसार यतिखेर काठमाण्डू र ललितपुरमा गरि एक सय किलोमिटर भन्दा बढी सडक विस्तारको काम भइरहेको छ।

तर विस्तारका क्रममा खासगरि तीन प्रकारका समस्याका कारण काममा ढिलाइ भएको भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले बताए।

कठिनाइहरु

उनका अनुसार केही ठेकेदारहरुले ढिलो काम सकेको, विद्युत प्राधिकरणले बेलैमा बिजुलीको पोल नसरिदिएको र उपत्यका खानेपानी लिमिटेडले पाइपहरुको काम समयमै नगरिदिंदा सडक विस्तार अभियान सुस्त भएको हो।

जारी विस्तार योजना अन्तर्गत काठमाण्डू उपत्यकामा ४०० किलोमिटर सडकहरुलाई चौडा र व्यवस्थित पार्ने सरकारी योजना छ।

तर त्यसक्रममा समयमै घरहरु भत्काउन, बिजुली र टेलिफोनका पोलहरु सार्न वा फेर्न र पिउने पानी र ढलका पाइपहरु सार्ने जस्ता चुनौतीहरु प्रमुख हुन्।

सरकारी निकायहरुको सम्वन्वयमा त्यस्ता कठिनाइहरु सजिलै हल नभए जारी सडक विस्तारको काम पुरा गर्न वर्षौ लाग्न सक्ने अधिकारीहरुको चिन्ता छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।