दलहरुको सहमति मान्य हुन्छ: राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 04.11.12, 20:18 NST सम्मका समाचार
राष्ट्रपति निवास

राष्ट्रपतिले आफू विरुद्ध गरिएका टिप्पणीहरु सही नभएको बताएको प्रचण्डले जनाए

राष्ट्रपतिले दलहरुबीच हुने सहमति आफूलाई मान्य हुने बताएको र केही दिन भित्रै सहमतिको सम्भावना बढेको कुरा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संवाददाताहरुलाई बताएका छन्।

तर विपक्षी दलहरुले चाहिं एकीकृत माओवादी सरकार लम्बाउने र आफूहरुलाई अलमलाउने दाउमा लागेको आरोप लगाएका छन्।

गत शुक्रवार राष्ट्रपति समक्ष तीन दिन भित्र सहमतिको प्रयास गर्ने वाचा गरेर निस्केका दलहरुबीच यसबीचमा भएका वार्ता चुनावी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने झगडामै केन्द्रित भए।

अड्कलबाजी

"राजनीतिक दलहरुकाबीचमा जे हुन्छ त्यो भन्दा बढी मेरो कुनै मनशाय छैन, जुन किसिमले यदाकदा टिप्पणीहरु आउने गरेका छन् ति विल्कुल सहि छैनन, छिटो सहमित होस् भन्ने बाहेक अरु कुनै उद्देश्य मेरो छैन भनेर उहाँले स्पष्टसँग राख्नुभयो"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

यसबीचमा ‌औपचारिक वा अनौपचारिक छलफल भईरहेका बताइए पनि सकारात्मक संकेतहरु नदेखिएका बेला आइतवार एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच छलफल भएको हो।

एकजना माओवादी मन्त्रीले राष्ट्रपति यादव आफैले लिन खोजेको तर उनको त्यो योजना विफल भएको भनाई सार्वजनिक गरेकै दिन प्रचण्ड र राष्ट्रपतिबीच भएको भेटलाई धेरैले विभिन्न अड्कलबाजीसँग जोडेरे हेरेको पाइएको छ।

भेटपछि प्रचण्डले त्यस्तै अड्कलवाजीको झल्को दिने गरि भने, “राजनीतिक दलहरुका बीचमा जे हुन्छ त्यो भन्दा बढी मेरो कुनै मनशाय छैन, जुन किसिमले यदाकदा टिप्पणीहरु आउने गरेका छन् ति विल्कुल सही छैनन, छिटो सहमित होस् भन्ने बाहेक अरु कुनै उद्देश्य मेरो छैन भनेर उहाँले स्पष्टसँग राख्नुभयो।”

भेटबाट आफूमा उत्साह थपिएको र बजेट लगायत विषयमा केही दिनमै सहमति जुट्न सक्ने संकेत प्रचण्डले गरेका छन्।

"समस्या समधान भन्दा सरकारलाई अझ कसरि बढि टिकाउने र विपक्षीहरुलाई अनेकप्रकारका कुराहरुमा कसरि अलमलाउने भन्ने शैली उहाँहरुले देखाईरहनु भएको छ"

भिम रावल, नेता, नेकपा एमाले

तर विपक्षी दलहरुले उनको त्यो अभिव्यक्तिलाई वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकार लम्बाउने र आफूहरुलाई अलमलाउने चालबाजीका रुपमा बुझेका छन्।

वेवास्ता

सरकार गठबन्धनकै वेवास्ताका कारण सहमतिको दिशामा कुनै प्रगती नभएको बताउँदै एमाले नेता भिम रावलले प्रचण्डका भनाई प्रति लक्षित गर्दै भने, “समस्या समधान भन्दा सरकारलाई अझ कसरी बढी टिकाउने र विपक्षीहरुलाई अनेक प्रकारका कुराहरुमा कसरी अलमलाउने भन्ने शैली उहाँहरुले देखाइ रहनु भएको छ।”

वैठकै पिच्छे नयाँ नयाँ प्रस्तावहरु गर्नथालेपछि विपक्षी दलहरु काँग्रेस र एमाले केही समय यता प्रचण्डप्रति थप सशंकित हुन थालेका हुन्।

राष्ट्रपतिलाई भेटेर फर्कने क्रममा प्रचण्डले केही दिनमै सहमति जुट्ने बताए पनि उनकै पार्टीका प्रवक्ता अग्नी सापकोटाले पर्दा पछाडी केही नपाकेको बीबीसीलाई बताए।

यही सरकारलाई सहमतिय चुनावी सरकारको स्वरुप दिनु पर्ने एकीकृत माओवादीको माग र त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने विपक्षी दलहरुको अडानले जारी संवैधानिक र राजनीतिक संकट लम्बने स्पष्ट संकेत देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।