विपक्षी दलद्वारा आन्दोलनका कार्यक्रम घोषणा

पछिल्लोपल्ट अपडेट गरिएको: 10.11.12, 19:10 NST सम्मका समाचार
आन्दोलन घोषणा गर्दै विपक्षी दलहरु

आन्दोलनसँगै वार्तालाई पनि खुलै राखिने विपक्षी दलले बताएका छन्

संविधानसभा विघटन भएको पाँच महिना सम्म रनभूल्लमा परेको जस्तो देखिएका विपक्षी दलहरुले शनिवार सरकार विरोधी सडक आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले काठमाण्डू बाहिर आमसभाहरु गर्ने बताएका छन् भने उपत्यकामा नागरिक समाज, उद्योगपति, व्यापारी र आफ्नै कार्यकर्ताहरुसँग वृहत भेला गर्ने भएका छन्।

विपक्षी दलका नेताहरूले सरकार नहटेसम्म आन्दोलन नरोकिने चेतावनि दिएका छन्।

सहमति बिना सरकारले बजेट ल्याउन खोजे त्यसलाई रोकिदिन तीन दिन अघि राष्ट्रपतिलाई लिखित आग्रह गरेका विपक्षी दलहरुले शनिवार पत्रकार सम्मेलन मार्फत धेरैजसो उपत्यका बाहिर केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उद्धेश्य

चुनावी सरकारको नेतृत्वलाई जोडतोडका साथ उठाउँदै आएका विपक्षी दलले संविधानसभा चुनावबाट संविधान बनाउने विषयलाई आन्दोलनको उद्देश्यको पहिलो बुँदामा राखेका छन्।

आफ्नै नेतृत्वको चुनावी सरकारको मागलाई दोस्रो बुँदामा झारेका छन्।

"आन्दोलनको तयारी र पूर्वाधार स्वरुप यी कार्यक्रमहरु ल्याएका हौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली काँग्रेस

आन्दोलनको उद्देश्यवारे एमाले अध्यक्ष झलनाथ खनालले भने, “सिंगो मुलुकलाई नै संविधानसभाको चुनाव तर्फ लगेर त्यहाँबाट नयाँ संविधान जारी गर्नु नै यो आन्दोलनको मुख्य उद्देश्य हो।”

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “आन्दोलनको तयारी र पूर्वाधार स्वरुप यी कार्यक्रमहरु ल्याएका हौं।”

शान्तिपूर्ण आन्दोलनसँगै वार्तालाई पनि खुलै राख्ने दलहरूको भनाइ छ।

काँग्रेस र एमाले सहित विभिन्न १५ दलका प्रतिनीधिले आन्दोलनका कार्यक्रममा हस्ताक्षर गरेपनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमले भने त्यसमा सहभागिता जनाएका छैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।