'बजेटवारे राष्ट्रपतिलाई जानकारी गराउँछौ'

पछिल्लोपल्ट अपडेट गरिएको: 11.11.12, 19:31 NST सम्मका समाचार
दलहरुको वैठक

विपक्षी दलले समग्र विषयमा सहमति नजुटे पूर्ण बजेट मान्य नहुने बताउँदै आएका छन्

समग्र विषयमा राजनीतिक सहमति नगरि पूर्ण बजेटमा सहमति जनाउन नसक्ने अडान विपक्षी दलहरुले नत्यागेपछि सरकारले बजेटका विषयमा सोमवार रष्ट्रपतिलाई जानकारी गराउने तयारी गरेको छ।

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले बीबीसीसँग कुरा गर्दै पूरानो प्रचलन अनुसार सोझै बजेट अध्यादेश पेश गर्नु अघि राष्ट्रपतिलाई बजेटका विषयमा जानकारी गराईने बताए।

"पहिला बजेटको ब्रिफिङ गर्नुपर्ने रहेछ र पछि मात्र पठाउनु पर्ने रहेछ, त्यसकारण सरकारले सोमवार राष्ट्रपतिलाई बजेटवारे ब्रिफिङ गर्छ"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

तर अन्तिम घडि सम्म पनि बजेटमा सहमति जुटाउन अधिकत प्रयास गरिने उनको भनाई छ।

सहमतिको सम्भावना नदेखिएको भन्दै शनिवार सरकार विरोधी आन्दोलनका कार्यक्रम घोषणा गरेका विपक्षी दलहरुलाई मनाउने प्रयास स्वरुप हुन सक्छ, आईतवार बिहानै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र एमालेका पूर्व अर्थमन्त्रीसँग बजेटका विषयमा छलफल गरेका थिए।

काँग्रेसका रामसरण महत र एमालेका सुरेन्द्र पाण्डेले शीर्ष तहमा सवै विवादित विषयमा सहमति नभए बजेट आउन नसक्ने अडान दोहोराए पछि प्रचण्डले काँग्रेस र एमालेका प्रमुखहरुलाई आईतवार साँझ वैठकका निम्ति आग्रह गरेका थिए।

तर विपक्षी दलका शीर्ष नेताले नआउने बताएपछी साँझ बस्ने भनिएको उक्त वैठक हुन सकेन।

ब्रिफिङ

"अझै एक महिनालाई धान्ने खर्च सरकारसँग छ त्यसैले आजको भोली नै बजेट ल्याउनु पर्छ भनेर हतार गर्नु पर्दैन भनेर हामीले सुझाव दियौं"

सुरेन्द्र पाण्डे, एमाले नेता एवं पूर्व अर्थमन्त्री

सहमति जुट्ने सम्भावना क्षीण हुँदै गएपछि सरकार चाहिं राष्ट्रपतिलाई बजेटका विषयमा जानकरी गराउने तयारीमा जुटेको छ।

एकीकृत माओवादी प्रवक्ता अग्नी सापकोटाले भने, “पहिला बजेटको ब्रिफिङ गर्नुपर्ने रहेछ र पछि मात्र पठाउनु पर्ने रहेछ, त्यसकारण सरकारले सोमवार राष्ट्रपतिलाई बजेटवारे ब्रिफिङ गर्छ।”

प्रचण्ड निवासमा भएको वैठकमा पूर्व अर्थमन्त्रीले मंसिर सम्मलाई धान्ने खर्च बाँकी नै रहेको भन्दै केहि दिन भित्रै बजेट नल्याउँदा खासै फरक नपर्ने सुझाव दिएका थिए। त्यसाबारे एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, “अझै एक महिनालाई धान्ने खर्च हामीसँग छ त्यसैले आजको भोली नै बजेट ल्याउनु पर्छ भनेर हतार गर्नु पर्दैन भनेर हामीले सुझाव दियौं।”

उता अर्को विपक्षी दल नेपाली काँग्रेसले बजेटलाई राजनीतिक निकाससित जोडेर हेरिनुपर्ने प्रस्ताव अघि सारेको छ। उक्त पार्टीले राजनीतिक विषयलाई छोडेर खालि बजेटमा मात्र सहमति दिन नसकिने बताएको छ।

"बजेटलाई राजनीतिक निकाससित जोडेर हेर्नुपर्छ, अरु विषयलाई छोड्ने अनि बजेटमा मात्र सहमति दिने गर्न सकिदैन"

दिलेन्द्रप्रसाद बडु, प्रवक्ता, नेपाली काँग्रेस

काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, “बजेटलाई राजनीतिक निकाससित जोडेर हेर्नुपर्छ, अरु विषयलाई छोड्ने अनि बजेटमा मात्र सहमति दिने गर्न सकिदैन।”

बाँकी

एक तृतियांश बजेटको आयु सकिन चार दिन मात्र बाँकी छदा सरकार जसरी भएपनि पूर्ण बजेट ल्याउने कसरतमा जुटेको तर विपक्षी दलहरुले यहिं मौकामा प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति अघि सारेको विश्लेषणहरु हुन थालेका छन्।

कथमकदाचित सरकारले एकपक्षिय रुपमा बजेट अध्यादेश पेश गरि हाल्यो भने सवै भन्दा ठूलो अप्ठेरो चाहिं राष्ट्रपति रामवरण यादवलाई पर्ने देखिन्छ, किनभने केहि समय अघि मात्र उनले दलहरुको सहमतिबिना आफूले कुनै पनि निर्णय नलिने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।