बजेट ल्याउने सरकारको प्रयास फेरि विफल

पछिल्लोपल्ट अपडेट गरिएको: 12.11.12, 21:40 NST सम्मका समाचार
संसद

संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो

राष्ट्रपति रामवरण यादवले सोमबार अर्थ मन्त्रीसंगको भेटमा बजेटबारे दलहरुबीच न्युनतम सहमति हुनुपर्नेमा जोड दिएपछि बजेट ल्याउने सरकारको योजना थप अन्यौलमा परेको छ।

सत्ताधारी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बजेट ल्याउन गरेको आग्रह पनि विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले ठाडै अस्वीकार गरिदिएका छन्।

तर बढ्दो अन्यौलका माझ बजेट र राजनीतिक संकटको निकासबारे प्रमुख दलका नेताहरु र राष्ट्रपतिबीच भोली विहान छलफल हुने कार्यक्रम छ।

सरकारका एक मन्त्रीका अनुसार सरकार बजेटबारे राष्ट्रपतिलाई जानकारी गराएर अध्यादेशमार्फत बजेट ल्याउने प्रक्रिया सोमबार नै थाल्ने सोचमा थियो।

तर शितल निवास पुगेका अर्थ मन्त्री वर्षमान पुनसंगको भेटमा राष्ट्रपतिले दलहरुबीच न्युनतम सहमति विना बजेट ल्याउन नहुनेमा पुन: जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

सहमतिमा जोड

"राष्ट्रपतिले न्युनतम सहमति जुटाएर मात्र बजेट ल्याउनुस् भन्ने पुरानो आग्रह अर्थ मन्त्रीसंग दोहोर्‍याउनु भयो"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

“यस्तो बेला के गर्ने भनेर संविधानमा प्रष्ट व्यवस्था छैन, त्यसैले राष्ट्रपतिले न्युनतम सहमति जुटाएर मात्र बजेट ल्याउनुस् भन्ने पुरानो आग्रह अर्थ मन्त्रीसंग दोहोर्‍याउनु भयो।”

अर्कोतिर पुर्ण बजेट ल्याएर आर्थिक देशलाई संकटबाट जोगाउने विषयमा विपक्षी दलहरुको सहयोग खोजिरहेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसंग छलफल गर्न त सफल भए।

तर पुर्ण बजेट ल्याउने सम्वन्धमा सहमति नजुटेपछि संवाददाताहरुमाझ उनी खिन्न सुनिए।

"मैंले बजेट ल्याउने कुरालाई सहज रुपमा लिउँ र देशलाई अप्ठ्यारोमा नपारौं भने, तर उहाँहरुले हुँदैन भन्नु भयो"

प्रचण्ड, एकीकृत माओवादी अध्यक्ष

“मैंले बजेट ल्याउने कुरालाई सहज रुपमा लिउँ र देशलाई अप्ठ्यारोमा नपारौं भने, तर उहाँहरुले हुँदैन भन्नु भयो।”

अस्वीकार

सिंहदरबारमा भएको तीन प्रमुख दलका शीर्ष नेताहरुको वैठकमा विपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्याकेजमा सहमति जुटेपछि मात्र बजेट ल्याउनु पर्ने आफ्नो दलको अडान दोहोर्‍याएको बताए।

“कतिपल्ट भन्नु हामीले प्याकेजमा सहमति गरौं भनेर भन्दै आएका छौ‍।”

अर्को विपक्षी दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले चाँही पहिला सरकार परिवर्तनको मागमा सहमति जुट्नु पर्नेमा जोड दिंए।

"सरकार बदल्न तयार भइसकेपछि सबै कुरामा सहमति हुन्छ, सहमति भए पछि बजेट संगै सबै कुरा भइहाल्छ"

झलनाथ खनाल, एमाले अध्यक्ष

“सरकार बदल्न तयार भइसकेपछि सबै कुरामा सहमति हुन्छ, सहमति भए पछि बजेट संगै सबै कुरा भइहाल्छ।”

योजना

सरकारले निर्वाचन, विजुली, रासायनिक मल, सडक, सेना समायोजनजस्ता विषयहरुमा प्राथमिकता दिदै साढे चार खर्ब रुपैंयाको बजेट ल्याउने तयारीमा रहेका समाचार सोमबार राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ छापेका थिए।

तर सहमति नजुटेपछि बजेट ल्याउने काम तिहार पछिलाई सार्न सरकार बाध्य भएको छ।

पुर्ण बजेटबारेको विवाद र समग्र राजनीतिक संकटको निकासका उपायका सम्वन्धमा मंगलबार विहान शितल निवासमा राष्ट्रपतिले प्रमुख चार राजनीतिक शक्तीका नेताहरुसंग छलफल गर्ने कार्यक्रम छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।