संसारका सबै भन्दा “गरीब” राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 19.11.12, 16:01 NST सम्मका समाचार
युरुग्वेका राष्ट्रपति होसे मुहिका

राष्ट्रपति होसे मुहिकाले आफ्नो तलबको ठूलो हिस्सा दान गर्ने गर्छन्

राजनीतिज्ञहरुको जीवनशैली तिनका मतदाताहरुको भन्दा विलासी हुने गरेको प्रति गरिने गुनासो सामान्य जस्तै बनिसकेको छ।

तर युरुग्वेमा एउटा उदाहरण केहि फरक खालको देखिएको छ। त्यहांका राष्ट्रपति आफ्नी श्रीमतीको खेतमा रहेको पुरानो सानो घरमा बस्छन् र उनी आफ्नो तलबको धेरैजसो भाग परोपकारी कामका लागि दान दिने गर्छन्।

घर बाहिर लुगा सुकाइरहेको देखिन्छ। पानीको बन्दोबस्त झारपात उम्रीएको आंगनमा रहेको इनारबाट हुन्छ। घरको रेखदेख दुई जना प्रहरी र एउटा तीन खुट्टे कुकुरले गर्ने गर्छन्।

यो युरुग्वेका राष्ट्रपति होसे मुहिकाको निवास हो, जस्को जीवनशैली विश्वका अन्य नेताहरुको दांजोमा नितान्त भिन्न रहेको स्पष्ट देखिन्छ।

राष्ट्रपति मुहीकाले युरुग्वे राज्यले नेताहरुलाई प्रदान गर्ने विलासी भवन लिएका छैनन्। उनी आफ्नी श्रीमतीको फार्म हाउस,खेती घर,मा बस्छन् जुन राजधानी मोन्टेभीडेओको बाहिरी भेगमा एउटा कच्ची सडकको छेउमा अवस्थित छ।

"म संधै यसरी नै बस्दै आएको हुं। म संग जे जति छ म त्यसैबाट असल जीवन बांच्न सकिरहेको छु।"

होसे मुहिका, राष्ट्रपति, युरुग्वे

राष्ट्रपति र उनी श्रीमती मिलेर खेतमा काम गर्छन् र फुल विरुवा उमार्छन्।

परोपकारी काम

महिनामा १२ हजार डलर जतिको आफ्नो तलबको नब्बे प्रतिशत परोपकारी कामका लागि दान गर्ने राष्ट्रपतिको यस प्रकारको मितव्ययी जीवनशैलीका कारण उनलाई संसारका सबैभन्दा गरिब राष्ट्रपति पनि भन्ने गरिन्छ।

आफ्नो बारीमा एउटा पुरानो कुर्सीमा ढल्कंदै उनी भन्छन्- “म संधै यसरी नै बस्दै आएको हुं। म संग जे जति छ म त्यसैबाट असल जीवन बांच्न सकिरहेको छु।“

उनले आफनो तलबको केहि भाग गरिब र साना उद्यमीहरुको हितका लागि दान दिने गर्छन्। उनले आफ्ना लागि खर्च गर्ने लगभग ७७५ डलर, युरुग्वेका सामान्य जनताको औसत मासिक आय बराबर हुन आउंछ।

सन् २००९ मा राष्ट्रपति निर्वाचीत भएका मुहीकाले सन् १९६० र ७० को दशक, क्युबाली क्रान्तिबाट प्रेरित एउटा वामपन्थी सशस्त्र समूह, टुपामारोसको सदस्यका रुपमा विताएका थिए।

उनी माथि छ पटक गोली प्रहार भएको थियो र १४ बर्ष जेलमा विताएका थिए।

राष्ट्रपति होसे मुहिका

राष्ट्रपति मुहिका भन्छन् उनी कुनै पनि हिसाबले आफू गरीब भएको अनुभव गर्दैनन्

युरुग्वेमा प्रजातन्त्र पुनर्स्थापना भएपछि सन् १९८५ मा उनी जेल मुक्त भएका थिए।

जेल

जेलमा विताएको समयले नै आफूलाई जीवनका बारे आफ्नो दृष्टीकोण बनाउन सघाउ पुर्याएको राष्ट्रपति मुहिका बताउंछन्।

उनी भन्छन्” मलाई सबैभन्दा गरिब राष्ट्रपति भनिन्छ तर म कुनै पनि हिसाबले गरिब भएको अनुभव गर्दिन।

“मेरो विचारमा गरीब भनेका त्यस्ता मानिसहरु हुन् जो आफ्नो महंगो जीवनशैलीलाई धान्ने प्रयासका लागि मात्र काम गरिरहेका हुन्छन् र संधै बढी भन्दा बढी कुराहरु चाहन्छन्।

“यो स्वतन्त्रताको विषय हो। यदि तपाईंसंग सम्पत्तिको थुप्रो छैन भने तिनलाई जोगाइ राख्‍न जीन्दगीभरी नै दास जस्तो काम गरिरहनु पर्ने आवश्यकता तपाईंलाई पर्दैन, उनी भन्छन्। म हेर्दा सनकी बुढो मान्छे जस्तो हुंला तर यो मेरो आफ्नै चाहना हो।“

मुहिका धेरैजसो विश्व नेताहरुलाई, उनकै शब्दमा, उपभोगलाई बढाएर आर्थिक बृद्धि हासिल गर्न खोज्ने अन्ध प्रयास गरेको आरोप लगाउने गर्छन्।

तर ति शाकाहारी राष्ट्रपति र अन्य नेताहरुबीच विचारको खाडल जतिसुकै फराकिलो भएता पनि राजनीतिक जीवनको उतारचढावबाट अन्य नेताहरु जस्तै उनी पनि अछुतो भने छैनन्।

"मेरो विचारमा गरीब भनेका त्यस्ता मानिसहरु हुन् जो आफ्नो महंगो जीवनशैलीलाई धान्ने प्रयासका लागि मात्र काम गरिरहेका हुन्छन् र संधै बढी भन्दा बढी कुराहरु चाहन्छन्।"

होसे मुहिका, युरुग्वेका राष्ट्रपति

राष्ट्रपति मुहिकाका विपक्षीहरु भन्छन्, देशको हालको आर्थिक सम्पन्नताको सकारात्मक प्रभाव स्वास्थ्य र शिक्षा जस्ता सार्वजनिक सेवाहरुमा देखिएको छैन।

र सन् २००९ मा निर्वाचीत भएयता पहिलो पल्ट मुहिकाको लोकप्रीयता ५० प्रतिशत भन्दा कम विन्दूमा झरेको छ।

तर युरुग्वेको कानून अनुसार सन् २०१४ मा पुन: निर्वाचीत हुने प्रयास गर्न नपाउने भएकाले पनि लोकप्रीयताका बारे उनी त्यत्ति चिन्तीत छैनन्।

साथै ७७ बर्षको उमेर पुगिसकेपछि उनी राजनीतिबाट अवकाश लिने अवस्थामा पनि हुन सक्छन्।

सम्बन्धित शिर्षकहरु

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।