‘राष्ट्रपतिद्वारा कुनै समयसीमा तोकिएको छैन’

पछिल्लोपल्ट अपडेट गरिएको: 19.11.12, 20:40 NST सम्मका समाचार
राष्ट्रपति भवन

सहमतिका लागि मंसीर ७ पछि राष्ट्रपति फरक ढंगले अघि बढ्ने बताइएको छ

संविधानसभा विघटन भएपछि नयाँ चुनावका लागि भनेर तय गरिएको मिति मंसीर ७ सम्म सहमति नभए राष्ट्रपति अघि सर्ने भनी प्रचारित खबरहरु गलत भएको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

लामो समयदेखि राष्ट्रपतिले कुनै कदम चाल्ने हुन वा होइनन् भनेर गरिएका अड्कलबाजीका बीच उनले त्यस्तो सम्भावना नरहेको जनाए।

दलहरुको सहमति बेगर आफुले कुनै कदम नचाल्ने राष्ट्रपतिले बताएको पत्रकारहरुसंगको कुराकानीमा सोमबार प्रधानमन्त्रीले बताएका थिए।

“म आफ्नो संवैधानिक अधिकार र कर्तव्यभित्र रहेर काम गर्छु, दलहरुको सहमति विना कुनै कदम चाल्दिनं र जुन प्रकारको प्रचारवाजी भएको छ त्यो सत्य होइन भनेर उहाँ आफैंले आज हामीलाई आश्वस्त तुल्याउनुभयो,” प्रधानमन्त्रीले भने।

गुहार

गत जेठ १४ गते मध्यरातमा नयाँ चुनावका लागि भनेर प्रधानमन्त्री बाबुराम भट्टराईले मंसीर ७ को मिति तोकेका थिए।

सो मिति त्यसै गुज्रन लागेको भन्दै विपक्षी दलका कतिपय नेताहरुले पटक पटक राष्ट्रपतिलाई गुहारेका छन्।

"अब अहिलेको जस्तो सहज नहुन सक्छ। किनभने औपचारिक प्रक्रियामा प्रवेश गरिसकेपछि त्यो एउटा टुंगोमा पुग्नै पर्ने हुन्छ। त्यहाँ धेरै सुविधाहरु उपलब्ध नहुन सक्छ। त्यतिखेर मिति तोकेरै आव्हान हुन्छ"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

उक्त मितिलाई लिएर हालसम्म कुनै समयसीमा नतोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

“सो मिति एउटा सान्दर्भिक तिथि अवश्य पनि हो। त्यही अनुसार राष्ट्रपतिले दलहरुसंग कुरा गर्नुभएको हो। तर उहाँले कुनै समयसीमा दिनुभएको वा म्याद तोक्नुभएको होइन,” दाहालले भने।

फरक कदम

तर मंसीर ७ सम्मपनि कुनै सहमति जुटाउन दलहरु विफल भएको खण्डमा भने राष्ट्रपति फरक ढंगले अघि बढ्ने प्रष्ट संकेत राष्ट्रपतिका सल्लाहकारले दिएका छन्।

गएको साढे पाँच महिनाको अनौपचारिक छलफल र घच्घच्याइको श्रृंखलाले नतीजा नदिए औपचारिक आव्हान गर्ने राष्ट्रपतिको तयारी रहेको दाहालले बताए।

“अब अहिलेको जस्तो सहज नहुन सक्छ। किनभने औपचारिक प्रक्रियामा प्रवेश गरिसकेपछि त्यो एउटा टुंगोमा पुग्नै पर्ने हुन्छ। त्यहाँ धेरै सुविधाहरु उपलब्ध नहुन सक्छ। त्यतिखेर मिति तोकेरै आव्हान हुन्छ,” उनले भने।

मिति तोकेरै आव्हान गर्ने राष्ट्रपतिको तयारी दलहरुलाई अवगत गराइसकिएको बुझिन्छ।

तर सोही सन्दर्भमा सोमबारै साँझ बसेको दलहरुको बैठक कुनै टुंगोमा भने पुग्न सकेन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।