सहमतीय सरकारबारे तीन प्रमुख दलबीच औपचारिक संवाद

पछिल्लोपल्ट अपडेट गरिएको: 24.11.12, 21:15 NST सम्मका समाचार
प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्री भट्टराईले निकासको लागि आफु त्याग गर्न तयार रहेको हालै बताइएका थिए

राष्ट्रपति रामवरण यादवद्वारा सात दिनभित्र सहमतीय सरकार बनाउन दलहरुलाई आह्वान गरेको एक दिनपछि तीन प्रमुख राजनीतिक दलहरुले त्यसबारे औपचारिक छलफल गर्दै, सहमतीय सरकार गठन गर्न दलहरुबीच संवादलाई तिब्रता दिने बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको तीन दलको वैठकमा तीनै पक्ष सहमतिको विकल्प नभएकोमा एकमत भएको बताइएको छ।

तर आउने बिहिबारसम्ममा कसरी र कस्को नेतृत्वमा सहमतीय सरकार गठन हुने हो त्यसबारे प्रमुख दलहरु प्रष्ट छैनन्।

शनिबार साँझ शान्ति मन्त्रालयमा एकीकृत नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु सहभागी वैठकले सहमतीय सरकार गठन गर्न सबै दलहरुसंग वार्ता तथा संवाद गर्ने निश्कर्ष निकालेको छ।

संवाद शुरु

सो वैठकमा सहभागी एकीकृत माओवादीका एक उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, “आ-आफ्नो पार्टीमा थप छलफल गरेर आफ्ना धारणा लाई परिमार्जन गर्ने र शीर्ष नेताहरुले त्यसबारे छलफल गर्ने र सहमति जुटाउने कुरा भएको छ।”

सहमतीय सरकार राष्ट्रपतिले दिएको समयसीमा भित्रै बन्ला?

"सहमतिको सरकार तीन चार दिनभित्र पनि बन्न सक्छ, आठ दश दिन वा त्यो भन्दा बढी समय पनि लाग्न सक्छ"

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी

“सहमतिको सरकार तीन चार दिनभित्र पनि बन्न सक्छ, आठ दश दिन वा त्यो भन्दा बढी समय पनि लाग्न सक्छ।”

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका अनुसार सोही वैठकमा सहभागी प्रधानमन्त्री बाबुराम भट‍्टराई समेत सहमतीय सरकार गठन गर्नेबारे सकारात्मक थिए। उनले भने,“राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे तीन दलका प्रमुखले गर्ने निर्णय प्रति आफ्नो सहमति हुने प्रधानमन्त्रीले बताउनु भयो।”

तर सरकारको नेतृत्वबारे अडकलबाजी र हानथाप शुरु हुन सक्ने संभावनाका माझ सहमतीय सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे प्रमुख दलहरु प्रष्ट भइनसकेको पौडलले बताए।

अन्योल

"राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे तीन दलका प्रमुखले गर्ने निर्णय प्रति आफ्नो सहमति हुने प्रधानमन्त्रीले बताउनु भयो"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

नेपाली कांग्रेसको पदाधिकारी वैठकले सहमतीय सरकारको नेतृत्वकर्ताको टुंगो केन्द्रीय समितिले लगाउने निर्णय गरेको छ।

आउने बिहिबारसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठन गर्न उपयुक्त प्रस्ताव सिफारिस गर्न राष्ट्रपतिले औपचारिक आग्रह गरेको एक दिन पछि दलहरुको सक्रियता देखिएको हो।

एकीकृत माओवादीको पदाधिकारी वैठकमा राष्ट्रपतिको आह्वानप्रति असन्तुष्टी पछि सो दलका अध्यक्ष प्रचण्ड राष्ट्रपतिसंग भेटवार्ताका लागि शितल निवास पुगेका थिए।

सरकार पक्षीय दलहरुको गठबन्धनको वैठकले पनि राष्ट्रपतिको कदमको विरोध गरेको बताइएको छ।

तर राष्ट्रपतिको आग्रहलाई स्वागत गरेका विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले चाँही सहमतिको निम्ति सबै प्रमुख राजनीतिक शक्तीहरुलाई आग्रह गरेका छन्।

सम्बन्धित शिर्षकहरु

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।