सहमतीय सरकारबारेको संवादमा शिथिलता

पछिल्लोपल्ट अपडेट गरिएको: 25.11.12, 21:06 NST सम्मका समाचार
नेपाली कांग्रेस मुख्यालय

नेपाली कांग्रेस सहमतीय सरकारको नेतृत्वको एक प्रमुख दावेदार हो

राष्ट्रपति रामवरण यादवको आह्वान अनुसार सहमतीको सरकार गठन गर्ने बिषयमा एक चरण औपचारिक वार्ता गरेका तीन प्रमुख दलहरु आइतबार त्यसबारे थप वार्ता गर्न विफल भएका छन्।

केहि दिनभित्रै नेपाली कांग्रेसले आफ्नो गृहकार्य सकेर ठोस प्रस्ताव ल्याएपछि तीन दलबीच सरकारको नेतृत्वबारे थप छलफल हुने दुई नेताहरुले बताए।

सहमतिको आशामा विपक्षी दलहरुको गठबन्धनले अर्को साताको लागि पुर्व निर्धारित सरकार विरोधी कार्यक्रम समेत स्थगित गरिदिएको छ।

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समयसीमा क्रमश: घर्किदैछ।

"काठमाण्डु बाहिर रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु फर्किने वित्तिकै अर्को चरणको छलफल हुन्छ, र सबै दलहरुले आ-आफ्ना धारणा परिमार्जन गर्ने सहमति भएको छ"

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी

राष्ट्रपतिको औपचारिक आह्वानको मर्म अनुसारै शनिबार तीन दलीय वैठकमा सहभागी भएका नेताहरु आइतबार फेरि एक ठाउँमा देखिएनन्।

सहमतिको आशा

त्यस्को कारण खुलाउँदै उपप्रधानमन्त्री एवं एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, “काठमाण्डू बाहिर रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु फर्किने वित्तिकै अर्को चरणको छलफल हुन्छ, र सबै दलहरुले आ-आफ्ना धारणा परिमार्जन गर्ने सहमति भएको छ।”

सरकार बाहिर रहेका दलहरुको गठबन्धनले चाँही सहमतीय सरकारबारे सहमति जुटाउन वार्ता संवादलाई तिब्रता दिने संकेत गर्दै अर्को साताको लागि तय गरेको सरकार विरोधी कार्यक्रम समेत स्थगित गर्ने निर्णय गरेको छ।

सो गठबन्धनको आइतबारको वैठकपछि बीबीसीसंग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अन्ततोगत्वा सहमति जुट्नेमा आशावादी सुनिए।

"राष्ट्रपतिले सहमति जुटाउन दिएको सात दिनको म्याद बिहिबार सकिन्छ त्यसपछि पनि आवश्यक परे वार्ता गर्नको लागि हामी तयार छौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

“राष्ट्रपतिले सहमति जुटाउन दिएको सात दिनको म्याद बिहिबार सकिन्छ त्यसपछि पनि आवश्यक परे वार्ता गर्नको लागि हामी तयार छौं।”

सहमतीय सरकार गठनका निम्ती पहलहरु भइरहेको बेला आइतबारै, मन्त्रिपरिषदको वैठकले राष्ट्रपतिको आह्वानको विरोध गर्दै त्यो संविधानत: विरोधाभासपूर्ण रहेको निश्कर्ष निकालिदियो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषदको निर्णयबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री बाबुराम भट्टराई आइतबार सांझ शितल निवास गएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।