'राष्ट्रपति र प्रचण्डसँग द्वन्द्व बढेको छैन'

पछिल्लोपल्ट अपडेट गरिएको: 26.11.12, 20:18 NST सम्मका समाचार
प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्रीले मन्त्रिपरिषद् वैठकबाट राष्ट्रपतिको कदम असंवैधानिक भएको निर्णय गराएका थिए

सहमतिमा प्रधानमन्त्रीको उम्मेदवार सिफारिस गर्न आह्रान गर्ने राष्ट्रपतिय कदमलाई मन्त्रिपरिषद् बैठकबाट असंवैधानिक र अमान्य घोषणा गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति र आफुबीच कुनै मतभेद नबढेको दावी गरेका छन्।

तर प्रधानमन्त्रीले सिंहदरबार र शितल निवासबीच बिवाद नरहेको बताईरहँदा राष्ट्रपतिका कानुनी सल्लाहकारले मन्त्रिपरिषद्लाई राष्ट्रपतिको निर्णयमा आपत्ती जनाउने अधिकार नभएको बताउँदै प्रक्रिया नरोकिने बताएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले चाहिं राष्ट्रपति एक्लै अघि बढ्न खोजे सम्पूर्ण प्रक्रिया नै अवरुद्ध हुन सक्ने चेतावनी दिए।

गलत

"राष्ट्रपति र प्रधानमन्त्रीबीचको द्वन्द्व र प्रचण्ड र म बीचको अन्तरद्वन्द्व भन्ने कुरा गलत हो, अध्यक्ष प्रचण्ड सहमति कायम गर्न इमान्दारीपूर्वक लाग्नु भएको छ"

बाबुराम भट्टराई, प्रधानमन्त्री

राष्ट्रपतिको कदम र त्यसप्रति लचिलो भन्दै आफ्नै पार्टी अध्यक्षसँग समेत असन्तुष्ट बनेको बताईएका प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार बिहानै अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका थिए।

त्यस लगत्तै ललितपुरमा आयोजित एक औपचारिक कार्यक्रमा पुगेका कामचलाउ सरकारका प्रधानमन्त्रीले राष्ट्रपति र प्रचण्डसँग जोडेर आफू विरुद्ध आएका समाचार गलत भएको दावी मात्र गरेनन्, पार्टी अध्यक्ष प्रचण्ड सहमति कायम गर्न इमान्दारीपूर्वक लागेको अभिव्यक्ति पनि दिए।

उनले भने, “राष्ट्रपति र प्रधानमन्त्रीबीचको द्वन्द्व र प्रचण्ड र म बीचको अन्तरद्वन्द्व भन्ने कुरा गलत हो, अध्यक्ष प्रचण्ड सहमति कायम गर्न इमान्दारीपूर्वक लाग्नु भएको छ।”

"राष्ट्रपति अगाडी बढ्नु भएको छ, सरकार र दलहरुको सहयोगमा सहमतीय सरकार निर्माण गर्ने प्रक्रिया रहिरहन्छ, आईतबारको मन्त्रिपरिषद्को निर्णयले यो प्रक्रियालाई प्रभाव पार्दैन"

सूर्य ढुंगेल, राष्ट्रपतिका कानुनी सल्लाहकार

राष्ट्रपतिको आह्रानलाई असंवैधानिक भन्ने मन्त्रिपरिषद्को आइतबारको निर्णयसँगै सहमतिमा प्रधानमन्त्री सिफारिस गर्ने प्रक्रिया कसरी अघि बढ्ला? विभिन्न अड्कलबाजी जारी छन्।

तर अबको बाटोका सम्बन्धमा प्रधानमन्त्री र राष्ट्रपतिका सल्लाहकारका परस्पर विरोधी भनाइ आएका छन्।

राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलले राष्ट्रपतिको कदमको विरोध गर्ने अधिकार मन्त्रिपरिषद्लाई नभएको बताए।

प्रभाव

उनले भने, “राष्ट्रपति अगाडी बढ्नु भएको छ, सरकार र दलहरुको सहयोमा सहमतीय सरकार निर्माण गर्ने प्रक्रिया रहिरहन्छ, आईतबारको मन्त्रिपरिषद्को निर्णयले यो प्रक्रियालाई प्रभाव पार्दैन।”

"राष्ट्रपतिलाई कार्यकारी अधिकारभित्र प्रवेश गरेर मन्त्रिपरिषद् वर्खास्त गर्ने अधिकार संविधानले दिएको छैन तर यदि त्यसो गर्न खोजियो भने सिंगो प्रक्रिया नै अवरुद्व हुन्छ, संविधानको मृत्य हुन्छ र अन्तरिम संविधानको समाप्ती भएको स्वत: घोषणा हुन्छ"

देबेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिको आह्वानलाई पूर्वराजा ज्ञानेन्द्रको कदमसँग दाँजेर अभिव्यक्ति दिएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बीबीसीसँगको कुराकानीमा राष्ट्रपतिको आह्रान पछि पनि भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाउने तर्क गरे।

राष्ट्रपतिले आफुहरुको धारणालाई बेवास्ता गरे सिंगो प्रक्रिया नै अवरुद्ध हुने चेतावनी पनि उनले दिए।

उनले भने, “राष्ट्रपतिलाई कार्यकारी अधिकारभित्र प्रवेश गरेर मन्त्रिपरिषद् बर्खास्त गर्ने अधिकार संविधानले दिएको छैन। तर यदि त्यसो गर्न खोजियो भने सिंगो प्रक्रिया नै अवरुद्ध हुन्छ, संविधानको मृत्यु हुन्छ र अन्तरिम संविधानको समाप्ती भएको स्वत: घोषणा हुन्छ।”

राष्ट्रपतिको कदम संवैधानिक कि असंवैधानिक भन्ने विवादले प्रमुख दलहरुलाई प्रधानमन्त्रीको साझा उम्मेदवार छान्ने प्रयासमा अप्ठेरो पर्न सक्ने धेरैको बुझाइ छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।