सहमतीय सरकारको प्रधानमन्त्रीकालागि तीव्र दौड

पछिल्लोपल्ट अपडेट गरिएको: 27.11.12, 20:28 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

सोमवारसम्म विभाजित देखिएका दलका नेताहरुले मंगलवार भेटघाटलाई तीव्रता दिएका छन्

राष्ट्रपतिको आह्वान अनुसार आ-आफ्नो पार्टीको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने वातावरण तयार पार्न प्रमुख दलहरुले दौडधुप तीव्र पारेका छन्।

यो दौडमा बढी सक्रिय देखिएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेरै अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुपमा बदल्न प्रस्ताव गरेका छन्।

तराई केन्द्रित दलहरुको समर्थन जुटाउने प्रयासमा व्यस्त देखिएको र यसअघि नै नेकपा एमालेको समर्थन पाइसकेको नेपाली काँग्रेसले चाहीं उसकै नेतृत्वमा सहमतीय सरकार निर्माणका निम्ति सहयोग गरिदिन मंगलवार साँझ एकीकृत माओवादीसँग औपचारिक आग्रह गरेको छ।

प्रस्ताव

प्रधानमन्त्रीको साझा उम्मेदवार छनौट गर्ने दौडमा अघिल्ला दिनमा विभाजित, अस्पष्ट र सुस्ताएका जस्ता देखिएका प्रमुख दलका शीर्ष नेताले दौडधुपलाई मंगलवार एकाएक तीव्र पारेका छन्।

"भएन भने के गर्ने भनेर राष्ट्रपतिजीले सोध्नु भएको थियो, भएन भने यहाँले समय थप्नु बाहेक अरु उपाय त छैन भन्ने जवाफ दिए"

एकीकृत माओवादी अध्यक्ष, प्रचण्ड

एकाबिहानै प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेपछि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सोझै शितल निवास हानिएका थिए र राष्ट्रपतिसमक्ष भट्टराई सरकारलाई नै राष्ट्रिय स्वरुपको सरकारमा बदल्न प्रस्ताव गरेका थिए।

भेटपछि प्रचण्डले संवाददातासँग कुरा गर्दै बिहीवारसम्म सहमति हुन नसके म्याद बढाउन राष्ट्रपतिलाई सुझाव दिएको बताए।

उनले भने, “भएन भने के गर्ने भनेर राष्ट्रपतिजीले सोध्नु भएको थियो, भएन भने यहाँले उही समय थप्नु बाहेक अरु उपाय त छैन भन्ने जवाफ दिएँ।”

दाहालले दिउँसो आफ्नो पार्टीका पदाधिकारी र ब्यूरो इन्चार्जको बैठक गराएका थिए।

त्यसपछि उनले पुन: भट्टराई नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुपमा बदल्नु पर्ने आफ्नो पार्टीको अडान मात्र सार्वजनिक गराएनन्, यदि त्यसो नभए गठबन्धनकै अन्य नेताको नेतृत्वमा विकल्प खुला राख्ने निर्णय पनि गराए।

एकाएक बढेको प्रचण्डको दौडधुपकाबीच उनलाई भेट्न उनको निवास काँग्रेस सभापति सुशील कोईराला पुगेका थिए।

जवाफ

सके भट्टराई सरकारलाई निरन्तता दिने नसके सत्ताधारी गठबन्धनको विकल्प खुला राख्ने बताइरहेका प्रचण्डले पार्टीभित्र छलफल गरेर काँग्रेसलाई सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिइने जवाफ कोइरालालाई दिएका बताइएको छ।

"स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नको लागि काँग्रेस नेतृत्वमा सरकार हुनुपर्छ भनेर अडान लिएका हौं, अन्त्यमा एकीकृत माओवादी र काँग्रेस मिल्नुको विकल्प छैन"

प्रकाशमान सिंह, महामन्त्री, नेपाली काँग्रेस

एकीकृत माओवादी प्रवक्ता अग्नी सापकोटाले काँग्रेसलाई सहयोग गर्ने सम्भावना पूरै हराइ नसकेको बीबीसीलाई बताए।

सापकोटाले भने, “सम्भावना छैनै त नभनौं होईन, तर त्यतातर्फ सोचिएको छैन अहिले।”

नेकपा एमाले लगायत विपक्षी दलहरुको समर्थन पाइसकेको काँग्रेसले चाहीं अन्तिममा एकीकृत माओवादी र काँग्रेसले आपसमा कुरा मिलाएर आफ्नै नेतृत्वमा सरकार गठन हुने आशा मारिसकेको छैन।

काँग्रेस महामन्त्री प्रकाशमान सिंहले भने, “स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नको लागि काँग्रेस नेतृत्वमा सरकार हुनुपर्छ भनेर अडान लिएका हौं र त्यसै बमोजिम सभापतिले विभिन्न दलहरुसँग छलफल थाल्नु भएको हो, अन्त्यमा एकीकृत माओवादी र काँग्रेस मिल्नुको विकल्प छैन।”

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।