‘मधेशी नेताबाट प्रधानमन्त्रीको सम्भावना छैन’

पछिल्लोपल्ट अपडेट गरिएको: 28.11.12, 20:30 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

प्रमुख दलकै कारण मधेशी नेता प्रधानमन्त्री बन्ने सम्भावना नरहेको महतोले बताए।

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र अन्य कतिपय नेताहरुबाट तराई केन्द्रित दलका नेताको नेतृत्वमा पनि सहमतीय सरकार गठन हुन सक्ने भनाइ आईरहेका बेला सत्ताधारी मधेशी दलकै एकजना नेताले त्यो सम्भावना नरहेको बताएका छन्।

सत्ता गठबन्धमा रहेको मधेशी मोर्चाको एउटा दल सदभावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री राजेन्द्र महतोले ठूला पार्टीहरुले प्रधानमन्त्रीको दौड नत्यागेकाले मधेशी दलका नेता प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।

सत्ता गठबन्धन बाहिरै रहेका मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले समेत साझा प्रधामन्त्रीमा अहिले कसैको सम्भावना नरहेकोले तटस्थ व्यक्तिको खोजी गर्न उपयुक्त हुने बताए।

इन्कार

"ठूला पार्टीको आफ्नै भुँडी भरिएको छैन र उनीहरुको इच्छा पूरा भएको छैन, उनीहरुको यस्तो व्यवहार हेर्दा मधेशीलाई प्रधानमन्त्री बनाई देला भनेर मलाई रत्तिभर पनि विश्वास छैन"

राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी

यस अघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डको अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुपमा बदल्न नसके सत्ता गठबन्धकै अन्य नेताको विकल्पमा पनि जान सकिने भनाइ सार्वजनिक भएको थियो।

प्रचण्डले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर वा मधेशी मोर्चाका नेता उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार पनि प्रधानमन्त्री हुन सक्ने बताएको खबर सञ्चार माध्ययहरुमा आएका थिए।

तर बुधवार बीबीसीसँग कुरा गर्दै सत्तागठबन्धमै रहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यस्तो सम्भावनालाई ठाडै इन्कार गरे।

उनले भने, “ठूला पार्टीको आफ्नै भुँडी भरिएको छैन र उनीहरुको इच्छा पुरा भएको छैन, उनीहरुको यस्तो व्यवहार हेर्दा मधेशीलाई प्रधानमन्त्री बनाई देला भनेर मलाई रत्तिभर पनि विश्वास छैन।”

तटस्थ

"तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर चुनावमा जानु उपयुक्त हुन्छ"

उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनाधिकार फोरम

मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले दलहरुबाट सहमतिमा प्रधानमन्त्री चयन हुने सम्भावना नरहेको भन्दै तटस्थ व्यक्तिको खोजी गर्नु उत्तम हुने तर्क गरे।

उनले भने, “ तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर चुनावमा जानु उपयुक्त हुन्छ।”

मन्त्री महतोले चाहिं अहिले चर्चामा रहेका नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि आफुहरुले प्रस्ताव नगर्ने, तर सबैको सहमति बने विरोध पनि नगर्ने बताए।

उपेन्द्र यादवले आफूहरुले व्यक्ति भन्दा पनि तिनका एजेण्डा हेरेर विरोध वा समर्थनको नीति लिने जानकारी दिए।

तराई केन्द्रित पार्टीका कुनै पनि नेताले अब बन्ने सरकारको नेतृत्व गर्ने सम्भावना नदेखेका महतो र यादव दुवैले बिहीबारसम्ममा सहमतिमा नयां प्रधानमन्त्रीको नाम सिफारिस गर्ने सम्भावना नरहेको पनि बताएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।