दलहरु गम्भीर छलफलमा जुटेनन्

पछिल्लोपल्ट अपडेट गरिएको: 30.11.12, 20:11 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

यस्तै अवस्था जारी रहे फेरि पनि परिणाम नआउने खतरा बढेको नेताहरुले बढाए

सहमतीय प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट दोस्रो पटक सात दिनको म्याद पाएका दलहरुबीच शुक्रबार कुनै गम्भीर वार्ताहरु हुन सकेनन्।

एकाध नेताबीच टेलीफोनमा सामान्य कुराकानी भए पनि त्यसबाट कुनै उत्साहजनक संकेत नआएको नेताहरुले बताएका छन्।

"राष्ट्रपतिले एक साता थपेपछि दलहरुबीच गम्भीर वार्ता हुनुपर्थ्यो तर त्यो भएको छैन, केवल सामान्य अनौपचारिक कुराकानी भएका छन् तर ती कुराकानी पनि उत्साहजनक छैनन्"

भिम रावल, नेता, नेकपा एमाले

दलहरुबीच यस्तै अवस्था जारी रहे थपिएको समय पनि परिणामविहीन हुन सक्ने आशंका कतिपय नेताहरुले व्यक्त गरेका छन्।

अपेक्षा

दलहरुकै आग्रहमा राष्ट्रपतिबाट दोस्रो पटक म्याद थपिएको भोलिपल्ट शुक्रबार शीर्ष नेताहरुले गम्भीर वार्ताहरु गर्न सक्ने अपेक्षाहरु बढेका थिए।

"राष्ट्रपतिसँग म्याद बढाउन आग्रह गरेपछि त दलहरुबीच गम्भिर गृहकार्य हुनुपर्थ्यो तर औपचारिक छलफल भएका छैनन्"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

तर काँग्रेस सभापति सुशील कोईराला र मधेशी जनाधिकार फोरमका नेता उपेन्द्र यादवबीच भएको छलफल र एकाध नेताहरुबीच टेलीफोनमा भएको सामान्य कुराकानी बाहेक थपिएको एक दिन त्यत्तिकै गुज्रिएको छ।

एमाले नेता भिम रावलले भने, “राष्ट्रपतिले एक साता थपेपछि दलहरुबीच गम्भीर वार्ता हुनुपर्थ्यो तर त्यो भएको छैन, केवल सामान्य अनौपचारिक कुराकानी भएका छन् तर ती कुराकानी पनि उत्साहजनक छैनन्।”

एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले पनि अपेक्षा गरिए अनुसार वार्ता हुन नसकेको स्वीकार गरे।

सापकोटाले भने, “राष्ट्रपतिसँग म्याद बढाउन आग्रह गरेपछि त दलहरुबीच गम्भीर गृहकार्य हुनुपर्थ्यो, तर औपचारिक छलफल भएका छैनन्।”

"दलका नेता र सहयोगीहरुबीच विभिन्न खाले वार्ताहरु भई नै रहेका छन्, सकभर यही एकसाता भित्र नभए पनि मंसिर भित्र सहमतीय सरकार बन्छ"

कृष्णप्रसाद सिटौला, नेता, नेपाली काँग्रेस

एमाले नेता रावलले चाहिं सत्ताधारीदलहरुले अडान नत्यागे थपिएको एक साता पनि कुनै परिणाम नआउने बताए।

तर काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले एक साता भित्र सम्भव नभए मंसिर भित्र चाहिं सहमतीय सरकार गठन हुने वातवरण बन्दै गएको बताए।

सिटौलाले भने, “दलका नेता र सहयोगीहरुबीच विभिन्न खाले वार्ताहरु भई नै रहेका छन्, सकभर यही एकसाता भित्र नभए पनि मंसिर भित्र सहमतीय सरकार बन्छ।”

म्याद बढाएको भोलिपल्ट दलहरुबीच देखिएको अनपेक्षित सुस्ततालाई केहीले नराम्रो संकेतका रुपमा पनि व्याख्या गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।