सहमति नभए सबै विफल हुने राष्ट्रपतिको चिन्ता

पछिल्लोपल्ट अपडेट गरिएको: 01.12.12, 21:12 NST सम्मका समाचार
राष्ट्रपति रामवरण यादव

सहमतिमा आउन राष्ट्रपतिले फेरि आग्रह गरेका छन्

राष्ट्रपति रामवरण यादवले थपिएको सात दिनभित्र राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार गठनबारे ठोस सहमति नजुटाए दलहरुसंगै आफु पनि विफल हुने चिन्ता व्यक्त गरेका छन्।

उनले संभव भएसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन नभए अर्को सरकारमा सहमति जुटाउन दलहरुलाई आग्रह गरेका छन्।

सहमतीय सरकार बनाउन दिएको एक साताको म्याद गुज्रिएर फेरि अर्को साताको म्याद दिएको दुई दिनसम्म पनि ठोस प्रगति हुन नसकिरहेको बेला राष्ट्रपतिको पछिल्लो चिन्ता सार्वजनिक भएको हो।

शनिबार पोखरामा राष्ट्रिय एड्स सम्मेलनको उदघाटन पछि बोल्दै राष्ट्रपति यादवले लम्बिंदो राजनीतिक संकटको प्रसंङ्ग कोट्याएका थिए।

‘विफल’

त्यस क्रममा उनले सहमतिका आधारमा वैशाखमा चुनाव गराउने सरकारको निर्णय स्मरण गराउँदै दलहरुलाई थपिएको सात दिनभित्र सहमतीय सरकार गठन गर्ने विषयमा जारी मतभेदहरुको अन्त्य गर्नु पर्नेमा जोड दिए।

"मेरो काम दलहरुलाई मिल्नको लागि आग्रह गर्नु हो, तर सहमति भएन भने म पनि विफल हुन्छु"

राष्ट्रपति रामवरण यादव

“मेरो काम दलहरुलाई मिल्नको लागि आग्रह गर्नु हो, तर सहमति भएन भने म पनि विफल हुन्छु।”

“तर मलाई विश्वास छ उहाँहरुले आउदो सात दिनभित्र सहमति जुटाउनु हुनेछ।”

दश दिनअघि राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार गठन औपचारिक आह्वान गरेयता प्रमुख तीन दलबीच एक पटक मात्र औपचारिक छलफल भएको छ।

त्यसपछि सहमतीय सरकारको नेतृत्वबारे विभिन्न विकल्पहरु अगाडी आएपनि दलहरुबीच सहमतिको संकेत मिलेको छैन।

तर राष्ट्रपतिले भने, “सहमति भयो भने यहि सरकारमा सबै बसिदिनु भए सुनमा सुगन्ध हुन्छ, भएन भने अर्को सरकारमा सहमति गर्ने काम तपाईहरुको हातमा छ।”

भारतीय चासो

राष्ट्रिय सहमतिको सरकार बनाउने तर्फ प्रगति ठप्प देखिएको बेला भारतको सत्ताधारी कांग्रेस आईका एकजना वरिष्ठ नेता करण सिंहले नेपालको भ्रमण गरी दलहरुका प्रमुख राजनीतिक व्यक्तित्वहरुसंग भेटघाट गरेका छन्।

भारतीय नेता सिंहसंग भेटेका नेपाली कांग्रेस सभापति सुशील कोइरालाका अनुसार सिंहले नेपाली नेताहरुलाई सहमति जुटाएर छिटो चुनाव गरेमा वातावरण सहज हुने सुझाव दिए।

एकजना नेपाली महिलासंग वैवाहिक सम्वन्ध रहेका करण सिंह २०६२/०६३ को आन्दोलन उत्कर्षमा पुगेको बेला पनि तत्कालीन राजा र सातदलीय गठबन्धनका नेतालाई भेट्न विशेष दूतको रुपमा नेपाल आएका थिए।

तर यसपटक उनलाई औपचारिक रुपमा विशेष दूत भनिएको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।