सहमतीय सरकारको नेतृत्वबारे दलहरु बीच विवाद

पछिल्लोपल्ट अपडेट गरिएको: 02.12.12, 21:12 NST सम्मका समाचार
प्रचण्ड

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको अडानसंग विपक्षीहरु सहमत छैनन्

राष्ट्रपति रामवरण यादवले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउन सकिने प्रतिक्रिया दिएको भोलिपल्ट सत्तापक्षीय र विपक्षी दलहरुबीच सहमतीय सरकारको नेतृत्व बारेको विवाद झनै चर्किएको छ।

एकीकृत माओवादीको आइतबार बसेको संक्षिप्त पदाधिकारी वैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन सकिनेमा पुन: जोड दिएको सो दलका प्रवक्ता अग्नी सापकोटाले बताए।

तर विपक्षी दलहरुले त्यस्लाई अस्वीकार गर्दै वर्तमान प्रधानमन्त्रीको राजिनामा नै सहमतिको निम्ति पुर्वशर्त भएको अडान दोहोर्‍याए।

राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार गठन गर्न थपिदिएको समयसीमा सकिन अब चार दिन बाँकी छ।

अडानहरु

अहिलेकै सरकारमा सबैको सहमति भए सुनमा सुगन्ध हुने भन्ने राष्ट्रपतिको प्रतिक्रिया सार्वजनिक भएको भोलिपल्ट दलहरुबीचको विवाद बढेको देखियो।

ठुला विपक्षी दलहरु प्रधानमन्त्री फेरिनु पर्ने अडानबाट टसकोमस भएका छैनन्।

नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिको निम्ती एकीकृत माओवादी पुराना सहमतिप्रति इमान्दार हुनु पर्नेमा जोड दिए।

"अब नेपाली कांग्रेसको नेतृत्व भनेर पहिला नै सहमति भइसकेको थियो, त्यसप्रति सत्तापक्षीय दल इमान्दार हुनु पर्‍यो"

दिलेन्द्रप्रसाद बडु, प्रवक्ता, नेपाली कांग्रेस

“अब नेपाली कांग्रेसको नेतृत्व भनेर पहिला नै सहमति भइसकेको थियो, त्यसप्रति सत्तापक्षीय दल इमान्दार हुनु पर्‍यो।”

बडुका अनुसार नेपाली कांग्रेसभित्र सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रारंभिक सहमति भइसकेको छ।

भेटघाट

आइतबारै मोहन वैद्य नेतृत्वको माओवादीका नेताहरु र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीचको भेटघाटमा दुबै पक्षले विपक्षी गठबन्धनबाट सहमतीय सरकारको नेतृत्व हुनु पर्नेमा समान धारणा बनाएको बताइएको छ।

अर्को विपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसलाई समर्थन गर्ने सोच बनाएको सो दलका नेताहरुले बताइसकेका छन्।

आइतबारै पत्रकारहरुसंगको भेटमा एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान प्रधानमन्त्रीले पद त्याग नगरेसम्म दलहरुबीच सहमति जुट्न नसक्ने अडान दोहोर्‍याए।

"सत्तापक्ष र विपक्ष दुबैको मेरो गोरुको बाह्रै ट्क्का भन्ने प्रवृत्ती नै सहमतिको बाधक हो"

राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी

तर सरकारमा सामेल एक तराई केन्द्रित दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका विचारमा सत्तापक्षीय र विपक्षी दलहरुले आआफ्ना अडान नत्यागेका कारण सहमति संभव नभएको हो।

‘बाधक’

महतोले भने“सत्तापक्ष र विपक्ष दुबैको मेरो गोरुको बाह्रै ट्क्का भन्ने प्रवृत्ती नै सहमतिको बाधक हो।”

राष्ट्रपतिले थपिदिएको समयसीमा क्रमश: नजिकिदै गर्दा सत्ताधारी र विपक्षी दलहरु बीचको विवादले दलहरुलाई पुन: विफलतातिर धकेल्ने चिन्ताहरु बढ्दैछन्।

दलहरु बीचको असहमतिको लम्बिदो श्रृङ्खला नतोडिएका कारण संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाएर आगामी वैशाखमा चुनाव गर्न दलहरु विफल हुनसक्ने चिन्ताहरु पनि सार्वजनिक रुपमा व्यक्त हुन थालिसकेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।