दलहरुको संयुक्त बैठक निष्कर्षविहीन

पछिल्लोपल्ट अपडेट गरिएको: 05.12.12, 20:41 NST सम्मका समाचार
मुख्य दलहरुको बैठक (फाइल फोटो)

सत्तारुढ र विपक्षी दलहरुको संयुक्त बैठकले सहमतिको सरकारबारे नयाँ निर्णय गरेन

सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा समाप्त हुने अघिल्लो दिन बुधबार विपक्षी र सत्तारुढ दलको संयुक्त बैठक निष्कर्षविहीन रह्यो।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको संयुक्त बैठकमा सत्तापक्ष पुरानै मुद्दामा फर्किएको आरोप विपक्षीहरुले लगाएका छन्।

बैठकमा सहभागी नेपाली कांग्रेसका एकजना महामन्त्री प्रकाशमान सिंहले माओवादीले घुमाइफिराइ संविधानको अन्तरवस्तुमा सहमति खोजेको बताए।

असहमति

सिंहले भने, "घुमाइफिराइ शासकीय स्वरुपको यस अघिको सहमति मान्नुपर्ने माओवादीले बतायो, हामीले त्यो त संघीयताबारे हाम्रो कुरा मानेको खण्डमा मान्ने सहमति भएको थियो भन्यौं।"

"घुमाइफिराइ शासकीय स्वरुपको यस अघिको सहमति मान्नुपर्ने माओवादीले बतायो, हामीले त्यो त संघीयताबारे हाम्रो कुरा मानेको खण्डमा मान्ने सहमति भएको थियो भन्यौं"

प्रकाशमान सिंह, महामन्त्री, नेपाली कांग्रेस

बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ शासकीय स्वरुपमा मात्रै आफुहरुले जोड नदिएको बताए।

उनले भने, "फेरि शून्यबाट शुरु नगरौं। पहिले भएका सहमति अनुमोदन गरेर जाऔं भन्ने हाम्रो भनाइ हो।"

माओवादीले यस अघि विपक्षीहरुसँग प्रधानमन्त्रीको उम्मेदवारबारे प्रश्न उठाउने गरेको थियो।

अपेक्षा

"फेरि शून्यबाट शुरु नगरौं। पहिले भएका सहमति अनुमोदन गरेर जाओं भन्ने हाम्रो भनाइ हो"

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी

बुधबार बिहान मुख्य विपक्षी नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार तोकेको थियो।

प्रधानमन्त्रीको उम्मेदवार तोकिएकाले राजनीति एक चरण अगाडि बढ्ने कतिपयको अपेक्षा थियो।

तर सत्तापक्ष र विपक्षीको संयुक्त बैठकले नयाँ सरकार गठनबारे कुनै निर्णय गर्न सकेन।

राष्ट्रपतिले दिएको दोश्रो समयसीमा अन्त्य हुने दिन बिहिबार फेरि बैठक बस्ने नेताहरुले जनाएका छन्।

काठमाडौंस्थित बीबीसीकी संवाददाता भन्छिन्, चुनावी दृष्यलाई पृष्ठभूमिमा राखेर गर्न खोजिएको सत्ता साझेदारी सँगसँगै आगामी दिनका मार्गचित्रमाथि विस्तृत कुराकानी नभएसम्म निकास निस्केला जस्तो देखिन्न।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।