सरकारमा आउन विपक्षीलाई आग्रह गर्ने: गठबन्धन

पछिल्लोपल्ट अपडेट गरिएको: 08.12.12, 20:41 NST सम्मका समाचार

वर्तमान सरकारमा आउन आह्वान गर्ने सरकारको निर्णयले विपक्षीलाई चिढ्याउने देखिन्छ

एकीकृत माओवादी र मधेशी मोर्चाको सत्तारुढ गठबन्धनले मुख्य विपक्षी दलहरु लगायत सबैलाई वर्तमान सरकार अन्तर्गत आउन आह्वान गर्ने तयारी गरेको छ।

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न राष्ट्रपतिले दिएको तेश्रो समयसीमा समाप्त भए लगत्तै त्यस्तो आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सन्चार मन्त्री राजकिशोर यादवले बताएका छन्।

राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको तेश्रो समयसीमा मंसिर २७ गते बुधबार सकिँदैछ।

गठबन्धनले शनिबार गरेको निर्णय कसरी कार्यान्वयनमा लाने भनेर मंसिर २८ गते विहान बैठक बस्ने तय भइसकेको बताइएको छ।

प्रयत्न

प्रवक्ता यादव भन्छन्, "राष्ट्रपतिले दिएको समयसीमा भइन्जेल सहमति खोज्ने प्रयत्न गर्ने त्यस लगत्तै कांग्रेस एमाले लगायतलाई आह्वान गरेर यहि सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न गर्नेछौं।"

प्रवक्ता यादवका अनुसार शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी थिए।

राष्ट्रपतिले सहमतिको सरकार बनाउन समयसीमा तोकिदिएको भएपनि शनिबार विभिन्न कार्यक्रमहरुमा सत्तापक्षले सत्ता नछोड्ने र विपक्षीहरुले आन्दोलन बाहेक अरु उपाय नरहेको सार्वजनिक गरेका समाचार प्रसारित भएका थिए।

शनिबारै दिउसो राजधानीमा आयोजित एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भने सहमति खोज्न आफुले प्रयत्न गरिरहेको बताएका थिए।

सहमतिको खोजी

"राष्ट्रपतिले दिएको समयसीमा भइन्जेल सहमति खोज्ने प्रयत्न गर्ने त्यस लगत्तै कांग्रेस एमाले लगायतलाई आह्वान गरेर यहि सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न गर्नेछौं"

राजकिशोर यादव, सरकारका प्रवक्ता तथा मन्त्री

शनिबार विहान माओवादी अध्यक्ष प्रचण्ड एमाले नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच कुराकानी भएको थियो।

प्रचण्ड भन्छन्, "कांग्रेस एमालेका नेताहरुसँग मेरो लामो कुराकानी भएको छ, कहिँ न कहिँ कतै न कतै सहमति खोज्नैपर्छ भन्ने छ।"

सुझाव

उक्त भेटवार्तामा आफुहरुले मुख्य दलहरुबीच बढ्दो अविश्वास कम गर्न तीन प्रमुख दलका शीर्ष नेताहरुबीच कुराकानी चलाउन प्रचण्डलाई सुझाव दिएको कांग्रेस नेता सीटौला बताउँछन्।

"कांग्रेस एमालेका नेताहरुसँग मेरो लामो कुराकानी भएको छ, कहिँ न कहिँ कतै न कतै सहमति खोज्नैपर्छ भन्ने छ"

पुष्पकमल दाहाल प्रचण्ड,अध्यक्ष, एकीकृत माओवादी

विपक्षीहरु माओवादी नेता प्रचण्डले बेलाबखत बोली फेर्ने गरेको आरोप लगाउँछन्।

काठमाडौंस्थित बीबीसीकी संवाददाता भन्छिन्, दिउसो दलहरुबीच आपसी सहमतिको आवश्यकता जोडदार रुपमा औंल्याएका प्रचण्डले साँझ कुनै हालतमा बाबुराम भट्टराई अन्तर्गतको सरकारमा नजाने भन्दै आएका विपक्षीलाई यहि मन्त्रिपरिषदमा आउन आग्रह गर्ने निर्णय गराउनुले विपक्षीहरुलाई थप सशंकित बनाउने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।