सरकार विरुद्ध आन्दोलन थाल्ने विपक्षीको चेतावनी

पछिल्लोपल्ट अपडेट गरिएको: 09.12.12, 21:14 NST सम्मका समाचार
नेपाली कांग्रेस मुख्यालय

सत्तारुढ गठबन्धनको ताजा प्रस्तावबारे कांग्रेस केन्द्रिय समितिमा छलफल भएको बताइएको छ

राष्ट्रपतिले दिएको तेस्रो समयसीमाभित्र सहमती नजुटे वर्तमान सरकारमा सहभागी हुन सबै दलहरुलाई आह्वान गर्ने सत्तारुढ गठबन्धनको रणनीति सार्वजनिक भएकोमा विपक्षी दलहरुले त्यसको कडा विरोध गर्ने संकेत दिएका छन्।

विपक्षी दलहरुले वर्तमान सरकार चुनावमा नजाने दाउमा रहेको आरोप लगाउँदै वार्ताहरु विफल भए सरकार परिवर्तन गर्न आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

तेस्रो समयसीमा भित्र सहमति नजुटे अहिलेकै सरकारमा सामेल हुन सबै दललाई आह्वान गर्ने सत्तारुढ गठबन्धनको भनाइले विपक्षी दलहरुलाई रुष्ट र सशंकित तुल्याएको छ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी र सत्तासीन अन्य दलहरुको पछिल्लो अडानले निकास दिने भन्दा पनि देशलाई मुठभेडतर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे।

‘मुठभेड’

"देशलाई अब आन्दोलनको बाटोमा मुठभेडको बाटोमा लान खोजिएको छ, यो सरकार निर्वाचन चाहादैन भन्ने कुरा स्पष्ट भएको छ"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

“देशलाई अब आन्दोलनको बाटोमा मुठभेडको बाटोमा लान खोजिएको छ, यो सरकार निर्वाचन चाहंदैन भन्ने कुरा स्पष्ट भएको छ।”

सहमतीय सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसले आफ्नो उम्मेदवार अघि सार्दा एकीकृत माओवादीले संविधानको अन्तरवस्तुमा पहिला सहमति गरौं भन्दै शर्तमाथि शर्त थुपारेर अर्घेल्याइ गरेको आरोप पौडेलले लगाए।

आइतबारै आफ्नो साझा रणनीतिबारे छलफल गर्न विपक्षी १५ दलको कार्यदलको वैठक बसेको थियो।

सो वैठकले पुसको दोस्रो सातासम्म नयाँ सरकार नबने वैशाख वा जेठमा चुनाव हुन नसक्ने निश्कर्ष निकालेको त्यहाँ सहभागी नेकपा एमालेका नेता रघुजी पन्तले बताए।

“वार्ताबाट सहमति निस्किदैन भने आन्दोलनमा जानेबारे शीर्ष नेताहरुले निर्णय गर्नु पर्छ भन्ने हाम्रो निश्कर्ष छ।”

"वार्ताबाट सहमति निस्किदैन भने आन्दोलनमा जानेबारे शीर्ष नेताहरुले निर्णय गर्नु पर्छ भन्ने हाम्रो निश्कर्ष छ"

रघुजी पन्त, नेता, नेकपा एमाले

“हामीले पुसमा गर्ने विरोध कार्यक्रमको रुपरेखा तयार पारेका छौं।”

‘आशा’

वर्तमान सरकारमा सहभागी हुन सबै दललाई आह्वान गर्ने सत्तारुढ गठबन्धनको रणनीति सार्वजनिक हुनुअघि, एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले तेस्रो पटकको म्याद भित्र सहमति जुट्ने आशा सार्वजनिक रुपमैं व्यक्त गरेका थिए।

तर आइतबार उनीबाट त्यसनिम्ति कुनै ठोस पहल भएको देखिएन।

उनको दलका प्रवक्ता अग्नी सापकोटाका अनुसार प्रचण्डले दलका नेताहरुसंग अनौपचारिक छलफल जारी राखेका छन्।

काठमाण्डू स्थित बीबीसीका संवाददाता भन्छन् “राष्ट्रपति रामवरण यादवले तेस्रो समयसीमा दिए लगत्तै सत्तारुढ र विपक्षी गठबन्धनहरु आ-आफ्ना दल वा मोर्चाका अडान र रणनीति तिखार्न व्यस्त देखिनुले सहजै सहमतीय सरकार बन्ने संकेत दिंदैन।”

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।