सम्वादबाट सहमति हुने सम्भावना क्षीण: एमाले अध्यक्ष

पछिल्लोपल्ट अपडेट गरिएको: 10.12.12, 20:03 NST सम्मका समाचार
विपक्षी दलका नेताहरु (फाइल फोटो)

लगातार वार्तामा बसेपनि सहमति हुन नसकेपछि सडक आन्दोलन गर्ने एमालेको तयारी छ

राष्ट्रपतिले दिएको तेस्रो समयसीमा नजिकिंदै गर्दा सत्ताधारी र विपक्षी दलहरु झन झन् टाढिंदै गएको संकेत मिल्ने गरी एक मुख्य विपक्षी नेताले जोडदार आन्दोलनको वकालत गरेका छन्।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सोमबार आफ्नो पार्टीको केन्द्रिय समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सम्वाद सफल हुने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको छ।

माओवादीलाई सहमतिमा आउन वाध्य पार्ने स्तरको जनपरिचालन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख भएको एमाले नेताहरुले बताएका छन्।

विपक्षी चिढिए

सोमबार बिहान लाजिम्पाटस्थित निवासमै पुगेर एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसंग भेटेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खनालले दिउँसो पार्टी कार्यालय बल्खुमा उक्त प्रतिवेदन पेश गरेका थिए।

सहमतिको सरकार बनाउन राष्ट्रपति रामवरण यादवले दिएका मंसीर २१ को दोस्रो समयसीमा सकिनु अघि नेपाली कांग्रेसले आफ्नो सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो।

त्यस लगत्तै बसेको बैठकमा एकीकृत माओवादीले पहिले संविधानको अन्तर्वस्तुमा सम्झौता हुनुपर्ने मुद्दा उठाएपछि विपक्षी दलहरु निकै चिढिएका थिए।

"शान्तिपूर्ण ढंगले माओवादीलाई सहमतिमा आउन दबाब दिने तहको जनपरिचालन र जनआन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने हामीले विश्लेषण गरेका छौं"

प्रदिप ज्ञवाली, एमाले नेता

त्यसैको झल्को एमाले अध्यक्ष खनालको प्रतिवेदनमा परेको छ।

“माओवादीले निरन्तर बहानाबाजी गरेर सहमतिमा अवरोध सृजना गरेको हुनाले सम्वादबाट सहमतिको सम्भावना कमजोर हुँदै गएको निश्कर्ष निकाल्दै अब आन्दोलनको तयारीलाई जोड दिनुपर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ,” एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले बताए।

त्यस्तो तयारीका लागि एकीकृत माओवादीबाट फुटेर गएको वैद्य पक्षीय माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपाल लगायतका अन्य विपक्षी दलहरुलाई समेटेर आन्दोलन गरिने उनले जनाए।

“शान्तिपूर्ण ढंगले माओवादीलाई सहमतिमा आउन दबाब दिने तहको जनपरिचालन र जनआन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने हामीले विश्लेषण गरेका छौं,” उनले भने।

मंसीर मसान्त आइपुग्दा सत्ताधारी र विपक्षीको चर्काचर्की टेबलबाट सल्टिनुको साटो सडकमा पोखिने सम्भावना बढेको छ।

त्यसो भएको खण्डमा सङ्क्रमणकाल अन्त्य गराउन अपरिहार्य ठानिएको आउंदो बैशाखमा गराउने भनिएको चुनाव धरापमा पर्ने सक्ने कतिपयको भनाइ छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।