वार्तामा थप लचक हुने एकीकृत माओवादीको निर्णय

पछिल्लोपल्ट अपडेट गरिएको: 11.12.12, 19:57 NST सम्मका समाचार
माओवादी अध्यक्ष प्रचण्ड

खासगरी नेपाली कांग्रेससंग सम्झौता गर्न जरुरी भएको प्रचण्डले बताई आएका छन्

एउटा मुख्य विपक्षी नेकपा एमालेका अध्यक्षले सम्वादको सफलताको सम्भावना कम हुँदै गएको भनी पार्टीमा प्रतिवेदन बुझाएको लगत्तै एकीकृत माओवादीले विपक्षीहरुसंगको वार्तामा थप लचक हुने निर्णय गरेको छ।

लचिलोपनाको तहबारे स्पष्ट नखुलाइएपनि खासगरी सरकारको नेतृत्वबारेको विवादमा लचक भएर प्रस्तुत हुन पार्टीका शीर्ष नेताहरुलाई जिम्मा दिइएको संकेत प्रवक्ताले दिएका छन्।

“मुख्य गाँठो त सरकारकै मुद्दामा हो। गाँठो फुकाउनका लागि टेबलमा बसेर छलफल गरेपछि परिणाम आउने कुरामा हामी आशावादी भएका छौं। एकतर्फी कुराले चित्र अगाडी नआउने हुँदा छलफलपछि थप स्पष्टता आउनेछ,” पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारीहरुको विस्तारित बैठकपछि बोल्दै प्रवक्ता अग्नि सापकोटाले बताए।

थाँती

एकीकृत माओवादी र मुख्य विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधानबारे विगतमा भएका सहमतिको स्वामित्व ग्रहणको विवाद थाँती नै छ।

"जनताको आधारभूत हितमा धक्का नलाग्ने गरी लचक हुने भनिएको छ"

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत नेकपा माओवादी

गएको सातादेखि दुई पक्षबीच सबभन्दा पेचिलो विमतिको कारण बनेको संविधानबारेका पूर्व सहमतिको स्वामित्व लिनुपर्ने माओवादी अडानमा परिवर्तन हुने छाँटकाँट अझै देखिएको छैन।

ती सहमति मध्येकै भनिएको मिश्रित शासन प्रणाली लगायतका विषयमा आफुहरु अझै अडिग रहेको सापकोटाको भनाई छ।

“त्यो त पहिले सहमति भइसकेको विषय हो। त्यसमा उहाँहरु उल्टिन थाल्नुभयो भने गाह्रो पर्छ। जनताको आधारभूत हितमा धक्का नलाग्ने गरी लचक हुने भनिएको छ,” सापकोटाको भनाई थियो।

केही दिन अगाडि बसेको नेपाली कांग्रेसको बैठकले, संविधानसभाको नयाँ चुनाव गर्ने भनिसकेपछि पुराना मुद्दाहरुमा फेरि अल्झिनुको औचित्य नहुने र सो मूल्यमा सरकारको नेतृत्वमा सम्झौता नगरिने निर्णय गरेको थियो।

दुई पक्षबीच परस्पर विरोधी लाग्ने अडान अझै कायमै रहेको सन्दर्भमा नाटकीय परिवर्तन नहुने हो भने बुधबारको समयसीमा पनि त्यत्तिकै गुज्रिने सम्भावना अधिक रहेको जानकारहरु बताउँछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।