पाँच दिन थप, सहमति जुट्ने विश्वास

पछिल्लोपल्ट अपडेट गरिएको: 13.12.12, 20:29 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

एकीकृत माओवादी र नेपाली काँग्रेसका नेताले थपिएको समय भित्र सहमति जुट्ने आशा व्यक्त गरेका छन्

प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न यस अघि पटक पटक गरी दिएको २० दिने म्याद सकिएपछि राष्ट्रपति रामबरण यादवले दलहरुलाई बिहीबार चौथो पटक पाँच दिनको म्याद दिएका छन्।

पछिल्लो पटक थपिएको म्याद भित्र पनि सहमति नभए आफु र दलका नेताहरुको समेत अस्तित्व संकटमा पर्ने चेतावनीपूर्ण शैलीमा राष्ट्रपतिले गम्भीर बन्न आग्रह गरेको नेताहरुले बताए।

थपिएको म्याद भित्र सहमति जुट्न सक्ने सम्भावना रहेको एकीकृत माओवादी र नेपाली काँग्रेसका नेताहरुले बताएका छन्।

"राष्ट्रपतिले सहमति नजुटे आफ्नो र दलका नेताहरुको अस्तित्वकै गम्भीर कुरा गर्नु भएको छ, मलाई के लाग्छ भने पाँच दिनमा सहमति जुट्छ"

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

यस अघि दुई पटक सात-सात दिनको र तेस्रो पटक ६ दिनको म्याद दिएका राष्ट्रपतिले बिहीबार बिहान प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गरी उनीहरुकै आग्रहमा पाँच दिनको म्याद थपेको उनका सल्लाहकारहरुले बताएका छन्।

जिज्ञासा

तर के अब थपिएको म्याद भित्र सहमति होला? अथवा नभए परिस्थिति कस्तो बन्ला भन्ने जिज्ञासा आम जनसमुदायमा ह्वात्तै बढेको पाईन्छ।

पाँच दिन भित्र सहमति जुट्ने सम्भावना छ? भन्ने प्रश्नमा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले राष्ट्रपति र दलहरुबीच भएको कुराकानीको सन्दर्भ कोट्याउँदै भने, “राष्ट्रपतिले सहमति नजुटे आफ्नो र दलका नेताहरुको अस्तित्वकै गम्भीर कुरा गर्नु भएको छ, मलाई के लाग्छ भने पाँच दिनमा सहमति जुट्छ।”

प्रवक्ता सापकोटाकाले अब थपिएको म्याद अन्तिम हुन सक्ने संकेत राष्ट्रपतिले गरेकाले सहमतिको विकल्प नभएको समेत बताए।

"सहमति जुट्छ भन्ने आशामै रहेर प्रयासहरु गर्ने हो, हाम्रा प्रयासहरु जारी छन् र अन्तिम समयसम्म पनि आशा कायमै राखेर प्रयासमा जुट्ने हो"

मिनेन्द्र रिजाल, नेता, नेपाली कँग्रेस

उनले संविधानसभाको चुनाव र त्यसबाट संविधान बन्ने आधार तयार हुनासाथ प्रधानमन्त्रीमा सहमति जुट्ने पनि बताए।

आशा

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले पनि सहमतिको आशा मरी नसकेको उल्लेख गरे।

उनले भने, “सहमति जुट्छ भन्ने आशामै रहेर प्रयासहरु गर्ने हो, हाम्रा प्रयासहरु जारी छन् र अन्तिम समयसम्म पनि आशा कायमै राखेर प्रयासमा जुट्ने हो।”

तर नेकपा एमालेका नेता इश्वर पोखरेलले चाहिं अब संविधानका धाराबाट समाधान निस्कने अवस्था नरहेको बताए।

"विकल्पहरु साँघुरिदै छन्, अहिलेको कदमबाट राष्ट्रपति पछि हट्नु हुँदैन पहिलो विकल्प। दोस्रो कुरा के भने अब संविधानका धारामा टेकेर मात्र समाधान आउँदैन, बृहत राजनीतिक समझदारी गरेर अघि बढ्नु पर्छ"

इश्वर पोखरेल, महासचिव, नेकपा एमाले

पोखरेलले भने, “विकल्पहरु साँघुरिदै छन्, अहिलेको कदमबाट राष्ट्रपति पछि हट्नु हुँदैन पहिलो विकल्प। दोस्रो कुरा के भने अब संविधानका धारामा टेकेर मात्र समाधान आउँदैन, बृहत राजनीतिक समझदारी गरेर अघि बढ्नु पर्छ।”

यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले उनका सहयोगी मार्फत सामाजिक सञ्जाल फेसबुकबाट बिहीबार गरेको एउटा खुलासाले एकाएक धेरैको ध्यान खिचेको छ, जहाँ प्रधानमन्त्रीले सहमतिका लागि आफुले प्रयास तीव्र पारेको भन्दै केही दिनमै नतिजा आउने उल्लेख गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।