प्रचण्ड र प्रधानमन्त्रीबीच मतभेद

पछिल्लोपल्ट अपडेट गरिएको: 19.12.12, 20:24 NST सम्मका समाचार

प्रचण्ड र प्रधानमन्त्रीबीच राजनीतिक दलहरुबीच हुन लागेको भनिएको सहमतिबारे मतभेद रहेको बताइएको छ

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईबीच उत्पन्न भएको मतभेद मेटाउन बिहीबार बिहान उनीहरु दुईजनाबीच कुराकानी तय गरिएको छ।

बुधबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा बोलाइएको माओवादी पदाधिकारी संलग्न विस्तारित बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेका थिए।

पछिल्लो समयमा मुख्यदलहरुबीच राष्ट्रिय सहमतिको सरकार बनाउने लगायतका विषयमा बन्न लागेको भनिएको सहमतिमाथि दुई नेताबीच मत बाझिएको बताइएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार दुइ नेताबीच भएको मतभेद पदाधिकारी बैठकमा टुंगिन नसके केन्द्रीय समितिमा लगिने छ।

अन्यौल

उत्पन्न अन्यौलबारे प्रचण्ड र भट‍टराईबीच बिहीबार बिहान बैठक तय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए।

उनले भने, “अध्यक्ष र प्रधानमन्त्री भोलि बिहान छलफल गर्दै हुनुहुन्छ, उत्पन्न अन्यौल केन्द्रित गरेर छलफल गर्ने भन्ने छ। पदाधिकारी छ, केन्द्रिय समितिमा लग्ने भन्ने कुरा भएको छ। ”

माओवादी प्रवक्ता अग्नि सापकोटाले चाहिं प्रधानमन्त्री पार्टीकै उपाध्यक्ष रहेकाले पार्टीको निर्णय अनुसार चल्नुपर्ने बताए।

"अध्यक्ष र प्रधानमन्त्री भोलि बिहान छलफल गर्दै हुनुहुन्छ, उत्पन्न अन्यौल केन्द्रित गरेर छलफल गर्ने भन्ने छ। पदाधिकारी छ, केन्द्रिय समितिमा लग्ने भन्ने कुरा भएको छ"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

दलहरुबीच तय गरिएका सहमतिका बुँदामा मुख्यत: प्रधानमन्त्री पद छोड्न बाबुराम भट‍टराई तयार नभएको खबर सार्वजनिक भएका थिए।

अविश्वास

कामचलाउ सरकारकार प्रधानमन्त्री भट्टराईले सरकार छोड्न नमाने के गर्नुहुन्छ भन्ने प्रश्न बीबीसीले गत साता सोध्दा माओवादी अध्यक्ष प्रचण्डले त्यस्तो अवस्था आउनेमा अविश्वास व्यक्त गरेका थिए।

"बाबुरामजीले चारपक्षले सहमति गरोस्, म दायाँ-बायाँ 'इफ बट' केहि पनि गर्दिनं भनेर हजार पटक भन्नुभा'छ"

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

उनले भनेका थिए, "बाबुरामजीले चारपक्षले सहमति गरोस्, म दायाँ-बायाँ 'इफ बट' केहि पनि गर्दिनं भनेर हजार पटक भन्नुभा'छ, त्यसो भएर तपाइले भनेको जस्तो स्थिति नै आउँदैन।"

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, मुख्य सत्तारुढ दल माओवादीभित्र उत्पन्न मतभेदको परिणाम के होला भन्ने लेखाजोखा गरिरहेका विपक्षी दलहरु भने बिहीबारसम्ममा केही पटाक्षेप होला भनेर पर्ख र हेरको मनस्थितिमा छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।