चुनावको निर्णय कार्यान्वयनमा तदारुकता देखाउन राष्ट्रपतिको आग्रह

पछिल्लोपल्ट अपडेट गरिएको: 19.12.12, 20:51 NST सम्मका समाचार
प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्री भट्टराईमाथि सहमतिको वाधक भएको आरोप विपक्षीले लगाएका छन्

वैशाखमा चुनाव गर्ने भनेर आफ्नै सरकारले गरेको निर्णय कार्यान्वयन गराउन तदारुकता नदेखाएको भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीलाई असन्तुष्टि पोखेको राष्ट्रपतिका प्रेस सल्लाहकारले बताएका छन्।

सहमतिमा चुनावको तिथि तोक्ने सरकारको निर्णय कार्यान्वयनका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिले आग्रह गरेको उनले बताए।

तदारुकता

वैशाखमा चुनाव गर्न केही साताभित्रै निर्वाचनको प्रक्रिया थालिहाल्नुपर्ने वाध्यताबारे दलहरुलाई यसअघिनै स्मरण गराइसकेका राष्ट्रपतिले बुधबार प्रधानमन्त्रीलाई शीतल निवास बोलाएका थिए।

सो भेटमा उनले आफ्नो असन्तुष्टि जनाएको बताइएको छ।

भेटबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “वैशाखमा चुनाव गर्ने र त्यसका लागि राजनीतिक दलहरुसंगको सहमतिमा तिथि तोक्ने भन्ने सरकारको निर्णय आएको थियो। तर त्यस्ता सहमति गर्न सरकार र प्रधानमन्त्रीका तर्फबाट खासै तदारुकता देखाएको नपाइएको हुनाले राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएका हुन्।”

"सहमति गर्न सरकार र प्रधानमन्त्रीका तर्फबाट खासै तदारुकता देखाएको नपाइएको हुनाले राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएका हुन्"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

उक्त भेटपछि बाहिरिएका प्रधानमन्त्री भट्टराईले सहमतिप्रति आफ्नो प्रतिबद्धता सञ्चारकर्मीलाई सुनाएका थिए।

खासगरी उनकै पार्टी एकीकृत नेकपा माओवादी तथा विपक्षी नेपाली कांग्रेसबीच कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने लगायतको प्याकेज सहमति भाँडेको आरोप विपक्षीहरुले उनीमाथि लगाएका बेला उनले त्यसलाई इन्कार गरे।

“जुन एउटा प्रचारबाजी केही समययता भइराखेको छ प्रधानमन्त्री सहमतिको वाधक छ भन्ने, त्यो सत्य होइन। किनकि प्रधानमन्त्रीको हैसियतले मैले यो निर्वाचन समयमा सम्पन्न गर्ने र संविधानसभाबाट संविधान बनाउने, त्यो नै मेरो सबभन्दा ठूलो सफलता हो,” प्रधानमन्त्री बाबुराम भट्टराईले भने।

आउने साताको शुरुमा पाँचदिने भारत भ्रमणमा जाने तरखरमा रहेका राष्ट्रपति रामवरण यादवले बुधबार नै मुख्य दलका शीर्ष नेताहरुसंग पनि छलफल गरेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।