सहमति जुट्ने विश्वास

पछिल्लोपल्ट अपडेट गरिएको: 21.12.12, 20:23 NST सम्मका समाचार
मुख्य दलका शीर्ष नेताहरु

आउँदो सोमबार राष्ट्रपति भारत भ्रमणमा जानु अघि नै सहमति जुट्ने नेताहरुले बताएका छन्

प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न राष्ट्रपतिले पछिल्लो पटक थपेको समय सीमा पछिका छलफलहरु सकरात्मक दिशातिर अघि बढेको बताउँदै आएका नेताहरुले आफूहरु सहमतिको नजिक पुगेको बताएका छन्।

जारी वार्ताहरुमा निर्णायक भूमिकामा रहेको ठानिएको एकीकृत माओवादीले समय अभावमा शनिबार नै सम्भव नभए पनि सहमति जुट्न सक्ने संकेत गरेको छ।

राष्ट्रपतिले पाँचौं पटक दिएको म्याद शनिबार सकिंदैछ।

नेपाली काँग्रेस र एमालेका नेताहरुले चाहिं एकीकृत माओवादीको शुक्रबारको वैठकबाट आशा गरिए जस्तो नतिजा नआए पनि सहमति हुने सम्भावना कायमै रहेको बताएका छन्।

"हाम्रो बैठक पनि निकै सकारात्मक छ, धेरै नजिक पुगीसकेको हुनाले सहमति हुनेमा म आशावादी छु तर सबैलाई विश्वासमा लिएर हिंड्नुपर्ने भएकाले भोलि नै सहमति गर्न समयको अलि चाप परेजस्तो लाग्छ"

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत नेकपा माओवादी

आउँदो सोमबार भारत भ्रमणमा निस्कन लागेका राष्ट्रपति समक्ष बिहीबार बेलुका सामूहिक छलफल गरेका तीन मुख्य दलका नेताहरु उनको भ्रमण अघि नै सहमति जुट्ने वाचा गरेर शितल निवासबाट बाहिरिएका थिए।

सकरात्मक

धेरैको केन्द्रबिन्दुमा रहेको देखिने एकीकृत माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी बैठकबाट निर्णय गराएर राष्ट्रपति समक्ष गरेको वाचालाई साकार रुप दिन्छन् भन्ने आशा काँग्रेस र एमालेका नेताहरुमा पाइन्थ्यो।

तर ठ्याक्कै त्यस्तो नभए पनि सहमितको दिशामा आफूहरुको बैठक सकारात्मक रहेको एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए।

सापकोटाले भने, “हाम्रो बैठक पनि निकै सकारात्मक छ, धेरै नजिक पुगीसकेको हुनाले सहमति हुनेमा म आशावादी छु तर सबैलाई विश्वासमा लिएर हिंड्नुपर्ने भएकाले भोलि नै सहमति गर्न समयको अलि चाप परेजस्तो लाग्छ।”

"हिजो अस्तीका छलफल अनुसार शुक्रबार केही होला कि भन्ने आशा गरिएको थियो। तर त्यस्तो आशा गरिए अनुसार एकीकृत माओवादीको बैठकबाट कुनै निर्णय हुन सकेन र त्यसले गर्दा आवश्यक आन्तरिक तयारी पनि गर्न पाइएन"

भीम रावल, नेता, नेकपा एमाले

माओवादीको उक्त बैठकबाट सहमतिको ठोस निर्णय आउने अपेक्षा गरेको तर त्यसो नहुँदा अन्य तयारीहरु गर्न नपाईएको काँग्रेस र एमालेका नेताहरुले बताएका छन्।

एमाले नेता भीम रावलले भने, “हिजो अस्तीका छलफल अनुसार शुक्रबार केही होला कि भन्ने आशा गरिएको थियो तर त्यस्तो आशा गरिए अनुसार एकीकृत माओवादीको बैठकबाट केही भएन र त्यसले गर्दा आवश्यक आन्तरिक तयारी पनि गर्न पाइएन।”

विश्वास

प्रधानमन्त्री बाबुराम भट्टराईले केही क्षण वा दिनका लागि भए पनि काँग्रेस र एमाले यही सरकारमा सहभागी हुनुपर्ने भन्ने अडान नत्यागेका कारण सहमितले साकार रुप लिई नसकेको टिप्पणीहरु भईरहँदा प्रवक्ता सापकोटाले चाहिं अन्तिम क्षणमा त्यो विषय पनि हल हुने विश्वास व्यक्त गरे।

राष्ट्रपतिले छिटो सहमति गर्न निरन्तर दबाब दिए पनि मुख्य दलका केही शीर्ष नेताहरु व्यक्तिगत वा पार्टीको काममा काठमाण्डौं बाहिर जाँदा सहमतिका प्रयासहरु प्रभावित भएको काँग्रेस र एमालेकै कतिपय नेताहरुले आरोप लगाएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।