भट्टराई र प्रचण्डबीच ‘गम्भीर’ छलफल

पछिल्लोपल्ट अपडेट गरिएको: 25.12.12, 21:18 NST सम्मका समाचार
प्रचण्ड

निकै सकृय भएपनि सहमति जुटाउन प्रचण्ड विफल देखिएका छन्

दलहरुबीच प्याकेजमा सहमति जुटेपछि मात्र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रधानमन्त्री बाबुराम भट‍्टराईको अडानप्रति उनकै पार्टीका अध्यक्ष प्रचण्ड सकारात्मक भएको दुबै नजिकका नेताहरुले बताएका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाउन प्रचण्ड लगभग सहमत भइसकेको चर्चाका माझ भट्टराईले त्यसप्रति तीव्र असन्तुष्टि पोखेपछि राजनीतिक अन्यौल बढेको थियो।

राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार बनाउन दिएका पाँच वटा म्याद गुज्रिएपछि सोमबारबाट पाँच दिनको अर्को समयसीमा शुरु भएको छ।

त्यसपछि पनि सहमतिको लागि प्रमुख राजनीतिक दलहरुबीच औपचारिक छलफलको संकेत नमिलेको बेला मंगलबार प्रधानमन्त्री र उनको दलका अध्यक्षबीच छलफल भएको थियो।

‘सकारात्मक’

सो भेटमा दुईबीच सकारात्मक छलफल भएको र त्यसबाट मतभेद साँगुरिएको प्रचण्ड नजिकका मानिने नेता हरिबोल गजुरेलले बताए।

“उहाँहरुबीच अलि पहिलेको जस्तो मतभेद अब छैन, सकारात्मक छलफल भएको छ,” गजुरेलले भने।

दलहरुबीच सहमति गरेर नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने केही पहिलेको तयारी प्रति तीव्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्री भट्टराईले प्याकेजमा सहमति गरेर वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनुपर्ने आफ्नो अडान दोहोर्‍याइरहेका छन्।

"दलहरुबीच छलफल गरेर प्याकेजमा सहमति जुटाउनेबारे उहाँहरुबीच गम्भीर छलफल भएको छ, मतभेदहरु साँगुरिएका छन्"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

निर्वाचन घोषणामा कानुनी वाधा अडकाउ-फुकाउ जस्ता विषयमा सहमतिपछि दोस्रो चरणमा निश्चित अवधिपछि चुनावको बेला राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसलाई दिने भट्टराईको सहमतिको सूत्र छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि आफ्ना पार्टीका अध्यक्ष र प्रधानमन्त्रीबीचको भेटबाट आशाको संचार भएको बताए।

उनले भने, “दलहरुबीच छलफल गरेर प्याकेजमा सहमति जुटाउनेबारे उहाँहरुबीच गम्भीर छलफल भएको छ, मतभेदहरु साँगुरिएका छन्।”

असन्तुष्टि

सहमतीय सरकारको नेतृत्वमा अध्यक्ष प्रचण्डको विकल्पलाई समेत खुल्ला राख्ने प्रस्ताव केही दिन अघि उनको पार्टीको बैठकमा आएको थियो।

विपक्षी दलहरुलेचाहिं प्रधानमन्त्री र सत्तारुढ दलहरुको अडानप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन्।

यसरी लम्बिंदो मतभेदको बीचबाट सहमतीय सरकार बनाउन दलहरुलाई राष्ट्रपतिले दिएको पछिल्लो समयसीमाबाट चार दिन मात्र बाँकी छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।