राष्ट्रपतिसंग फेरि समय माग्ने संकेत

पछिल्लोपल्ट अपडेट गरिएको: 29.12.12, 21:14 NST सम्मका समाचार
दलका नेताहरु

सहमति जुटाउन दलहरुबीच केही दिनयता गम्भीर छलफल भएको छैन

विपक्षी नेपाली कांग्रेस र सत्ताधारी एकीकृत नेकपा माओवादीका नेताहरुले सहमति जुटाउनको निम्ति म्याद थप्न राष्ट्रपतिसंग फेरि आग्रह गर्ने संकेत गरेका छन्।

राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले दलहरुलाई दिएको छैठौं समससीमा पनि व्यर्थ भएपछि दुई ठूला दलका नेताहरुको त्यस्तो भनाइ आएको हो।

पाँच दिने भारत भ्रमण सिध्याएर शनिबार स्वदेश फर्किएका राष्ट्रपति रामवरण यादवले दलहरुलाई मिलाउनको निम्ति प्रयत्न जारी राख्ने बताए।

भारत भ्रमणमा जानुअघि दलहरुलाई सहमतीय सरकार बनाउन दिएको छैठौं म्याद गुज्रिएकै दिन राष्ट्रपति रामवरण यादव स्वदेश फर्कदा दलहरुबीच सहमति भन्दा पनि विमति बढेको देखियो।

‘समाधान’

विगत केही दिनदेखि दलहरुबीच गम्भीर वार्ता समेत नभएको पृष्ठभूमिमा राष्ट्रपति यादवले दलहरुलाई मिलाउने प्रयत्न गर्ने संक्षिप्त प्रतिक्रिया काठमाण्डू विमानस्थलमा उत्रिएपछि संवाददाताहरुलाई दिए।

उनले भने, “हामी नेपालीले आफै मिलेर आफ्नो समस्या समाधान गर्नु पर्छ। दलहरुलाई मिलाउनु पर्छ।”

सरकार समर्थक र विपक्षी दलहरु आरोप-प्रत्यारोपमा लागेर राजनीतिक अन्यौल बढेको देखिएपनि नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाखमा चुनाव गर्नको निम्ति दलहरुबीच संवादमार्फत सहमति जुटाउनु पर्नेमा जोड दिए।

"संकट समाधान गर्न नसक्दा बैशाखमा निर्वाचन संभव हुदैन, त्यसैले दलहरुले फेरि एक पटक राष्ट्रपतिलाई म्याद थप गर्न आग्रह गर्नु पर्छ।"

कृष्णप्रसाद सिटौला, महामन्त्री, नेपाली कांग्रेस

सिटौलाले भने, “संकट समाधान गर्न नसक्दा बैशाखमा निर्वाचन संभव हुंदैन, त्यसैले दलहरुले फेरि एक पटक राष्ट्रपतिलाई म्याद थप गर्न आग्रह गर्नु पर्छ।”

एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले छैठौं म्याद पनि गुज्रिएपछि राष्ट्रपतिलाई के भन्ने त्यसबारे आफ्नो पार्टीको धारणा प्रष्ट भइनसकेको स्वीकारे।

सापकोटाले भने, “अब विपक्षीहरु सरकारमा आउन पनि मानिराख्या छैनन्, अब बैशाखमा चुनाव गर्ने गरी सहमति जुटाउनु पर्छ।

“हाम्रो पार्टीको धारणा बनिसक्या छैन, तर बैशाखमा चुनाव गर्न सहमति जुटाउन राष्ट्रपतिसंग केही समय माग्ने त होला,” उनले भने।

"हाम्रो पार्टीको धारणा बनिसक्या छैन। तर बैशाखमा चुनाव गर्न सहमति जुटाउन राष्ट्रपतिसंग केही समय माग्ने त होला"

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत नेकपा माओवादी

नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने गरी दलहरु सहमति नजिक पुगेको संकेत दलहरुले केहि दिन अघि नै गरेका थिए।

शर्त

तर प्रधानमन्त्री बाबुराम भट्टराईले आफुलाई निषेध गर्न खोजेको गुनासो गर्दै वर्तमान सरकारलाई नै सहमतीयको स्वरुप दिंदै प्याकेजमा सहमति गर्दै अघि बढ्ने शर्त राखे।

त्यसलाई विपक्षी दलहरुले अस्वीकार गरेपछि गतिरोध संगै अन्यौल पनि लम्बिएको हो।

पुष २५ गतेसम्ममा सहमति नजुटे संविधानसभा पुनर्स्थापना गर्नु पर्ने विकल्प सत्तारुढ दलका नेताहरुले यसै साता अघि सारे।

तर बैशाखमा चुनाव हुनु पर्नेमा जोड दिइरहेका विपक्षी दलहरुले त्यो प्रस्तावलाई अस्वीकार गरिदिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।