सातौं समयसीमा पनि फलदायी नहुने संकेत

पछिल्लोपल्ट अपडेट गरिएको: 31.12.12, 20:24 NST सम्मका समाचार

सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको सातौं समयसीमा पनि फलदायी नहुन सक्छ

राष्ट्रपति रामबरण यादवले सहमतिको चुनावी सरकार बनाउन मुख्य दलहरुलाई दिएको सातौं पटकको समयसीमा पनि त्यसै समाप्त हुने संभावना बढेर गएको देखिएको छ।

राजनीतिक निकासको तालाकुन्जी बोकेको भनिएका एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड विदेश लागेका छन्।

राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेका वार्तामा सरिक रहँदै आएका विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश नेता काठमाण्डू बाहिर छन् र उनीहरुले एक स्वरमा प्रधानमन्त्री बाबुराम भट्टराईका कारण सहमति बन्न नसकेको बताइरहेका छन्।

प्रमुख सत्तारुढ माओवादी र मधेशी मोर्चाका नेताहरुले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिइरहेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री राजकिशोर यादव भन्छन्, "यहि सरकारलाई राष्ट्रिय स्वरुप दिन सक्यो भने सबभन्दा सहज हुन्छ।"

गतिहिन

केहि समय यता गति लिन नसकेको सहमतिको प्रयत्न पत्नीको स्वास्थ्य जाँचका लागि भनेर देशबाट बाहिरिएका माओवादी अध्यक्ष प्रचण्डको अनुपस्थितिमा झन शुन्य रहने एमालेका अध्यक्ष झलनाथ खनाल बताउँछन्।

"यहि सरकारलाई राष्ट्रिय स्वरुप दिन सक्यो भने सबभन्दा सहज हुन्छ"

राजकिशोर यादव, प्रवक्ता, नेपाल सरकार

उनी भन्छन्, "प्रचण्ड गइसकेपछि वार्ता संवादका सारा प्रक्रिया उहाँ सँगसँगै गए। हामीले मात्र वार्ता गरेर हुने कुरा केहि छैन। उहाँ नआइ वार्ता हुँदैन। त्यसैले हामी र मुलुक अप्ठेरोमा पर्ने नै भयौं।"

दलदल

जानकारहरु भन्छन्, राजनीतिक सहमति खोज्न ढिलाइ गरे आफुहरु समस्याको दलदलमा फस्नेमा सत्तारुढ लगायतका दलहरुमा केही चेत पलाएको छ।

"प्रचण्ड गइसकेपछि वार्ता संवादका सारा प्रक्रिया उहाँ सँगसँगै गए हामीले मात्र वार्ता गरेर हुने कुरा केहि छैन उहाँ नआइ वार्ता हुँदैन त्यसैले हामी र मुलुक अफ्ट्यारोमा पर्ने नै भयौं"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

तत्कालीन राजाको शासन विरुद्ध खुशीसाथ हातेमालो गरेको छ वर्षमै एक अर्काबीच निषेधको बिन्दुमा पुगेका मुख्य दलहरुभित्र तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकारको विकल्पबारे छलफल बाक्लिँदै गएको बुझिएको छ।

काठमाण्डूस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, दलहरुले उक्त बाटो अवलम्बन गरे पनि तटस्थ व्यक्ति कसलाई मान्ने भन्नेबारे थप असहमतिको अर्को चरणलाई नकार्न सकिन्न।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।