सहमतिको निम्ति राष्ट्रपतिको 'दबाब' जारी

पछिल्लोपल्ट अपडेट गरिएको: 08.01.13, 21:02 NST सम्मका समाचार
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड

सहमति जुटाउने आफ्नो प्रयास विफल भइरहेको प्रचण्डले राष्ट्रपतिलाई भनेको बताइएको छ

आफूले दलहरुलाई सहमति जुटाउन दिएको आठौं समयसीमा पनि व्यर्थ हुनै लाग्दा राष्ट्रपति रामबरण यादवले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई दलहरुबीच सहमति जुटाउँदै वर्तमान संकटबाट देशलाई निकास दिन पुन: आग्रह गरेका छन्।

लम्बिदों गतिरोधको गाँठो फुकाउने विषयमा राष्ट्रपतिले मंगलबार अरु दुई नेताहरुसंग पनि कुराकानी गरेका थिए।

तर प्रमुख दलहरुबीचको संवादहिनता तोड्न बिहीबार मात्रै बैठक हुने संभावना रहेको एकीकृत माओवादीका एक नेताले बताए।

राष्ट्रपति यादव बढ्दो रुपमा अधीर हुँदै गएका देखिएको धेरैले बताएका छन्।

राजनीतिक संकटको निकासको उपायबारे उनले दिनदिनै परामर्श गरिरहेका छन्।

विफलता

तर दलहरूलाई सहमतिको लागि दिएको आठौं समयसीमा पनि खेर जाने स्पष्ट संकेत देखिइसकेको छ।

यस्तो स्थितिमा के गर्ने भन्ने बारे अरु जस्तै अन्यौलमा परेको प्रतित हुने राष्ट्रपतिले सहमतिको लागि 'दबाब' दिन भने छोडेका छैनन्।

"राष्ट्रपतिले सहमति जुटाउन भुमिका खेल्न आग्रह गर्नु भयो, अध्यक्षले पनि आफूले निरन्तर प्रयत्न गरिरहेको तर सहमति नजुटेको बताउनु भयो।"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

मंगलबार पनि उनले प्रचण्डसंगको भेटमा त्यसै गरेको बताइएको छ।

सो भेटबारे एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भने, “राष्ट्रपतिले सहमति जुटाउन भुमिका खेल्न आग्रह गर्नु भयो, अध्यक्षले पनि आफुले निरन्तर प्रयत्न गरिरहेको तर सहमति नजुटेको बताउनु भयो।”

मंगलबार राष्ट्रपतिले राष्ट्रिय जनशक्ती पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीसंग पनि भेटघाट गरेका थिए।

भेटका क्रममा आफूले राष्ट्रपतिलाई प्रमुख दलहरुमाथि दबाब बढाउने कुनै न कुनै कदम चाल्नु पर्नेमा जोड दिएको नेता भण्डारीले संवाददाताहरुलाई बताए।

"अब देशलाई असफल राष्ट्र हुनबाट बचाउन र दलहरुलाई पनि सहमतिको बिन्दुमा पुर्‍याउन उहाँले दबाब सृजना गर्नु पर्दछ"

शरतसिंह भण्डारी, नेता, राष्ट्रिय मधेस समाजवादी पार्टी

“अब देशलाई असफल राष्ट्र हुनबाट बचाउन र दलहरुलाई पनि सहमतिको बिन्दुमा पुर्‍याउन उहाँले दबाब सृजना गर्नुपर्दछ।”

अस्वीकार

राष्ट्रपतिले दलहरुलाई सहमति जुटाउन दिएको पछिल्लो पाँच दिने म्याद बुधबार सकिंदैछ।

शुक्रवारबाट निर्वाचन आयोग पदाधिकारीविहिन हुँदैछ; त्यस्ले आगामी बैशाख वा जेठमा चुनाव गर्ने संभावना टारी दिने बताइँदै छ।

दलहरुको सहमतिको रटान पटक्कै फलदायी नभएको बेला यसै साता सत्तारुढ दलहरुको गठबन्धनले संविधानसभा पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

तर त्यस्तो विकल्पलाई विपक्षी दलहरुले ठाडै अस्वीकार गरिदिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।