अनुसन्धान रोक्ने निर्देशन पछि प्रहरी अन्योलमा

पछिल्लोपल्ट अपडेट गरिएको: 13.01.13, 22:09 NST सम्मका समाचार

महान्यायाधिवक्ताको अनुसन्धान रोक्ने निर्देशन पछि दैलेख प्रहरी अन्योलमा छ

पत्रकार डेकेन्द्र थापाको हत्या सम्बन्धी अनुसन्धान रोक्न प्रधानमन्त्री र महान्यायाधिवक्ताले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

निर्देशन बदर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरिएको रिट सोमबार बिदा परेकाले मंगलबार मात्रै इजलाशमा पेश गरिने सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल बताउँछन्।

उनी भन्छन्, "रिटमा प्रधानमन्त्री र महान्यायाधिवक्ताले दिएको आदेशबाट अनुसन्धान प्रक्रिया अवरुद्ध भएकाले उक्त आदेश बदर गरी अनुसन्धान अगाडि बढाउन माग गरिएको छ। इजलाशमा पेश गरेपछि यसमा कारवाही अगाडि बढ्नेछ।"

महान्यायाधिवक्ता मुक्ति प्रधानले शुक्रबार फ्याक्स मार्फत पठाएको लिखित निर्देशन दैलेख जिल्ला सरकारी वकिलको कार्यालयले थापाको हत्यासम्वन्धी अनुसन्धान गरिरहेको दैलेख प्रहरीलाई आइतबार बुझाएको छ।

अन्योल

पत्र बुझे पछि दैलेख प्रहरी के गर्ने भन्ने अन्योलमा परेको छ ।

प्रहरी अनुसन्धान अधिकृत बिनोद शर्मा भन्छन्, "सरकारी वकिलसँग परामर्श गर्छौं। प्रहरीले लिनुपर्ने बयान पनि रोक्नुपर्ने निर्देशन पायौं भने रोक्छौं।"

प्रदर्शन

"रिटमा प्रधानमन्त्री र महान्यायाधिवक्ताले दिएको आदेशबाट अनुसन्धान प्रक्रिया अवरुद्ध भएकाले उक्त आदेश बदर गरी अनुसन्धान अगाडि बढाउन माग गरिएको छ। इजलाशमा पेश गरेपछि यसमा कारवाही अगाडि बढ्नेछ"

हेमन्त रावल, सहायक प्रवक्ता, सर्वोच्च अदालत

दैलेख लगायत देशभरका बिभिन्न जिल्लामा आइतबार पनि प्रधानमन्त्री र महान्यायाधीवक्ताको निर्देशनका बिरोधमा पत्रकारहरुले प्रर्दशन गरेका छन्।

थापा हत्याको अनुसन्धानको प्रक्रिया बुझ्न दैलेख गएको पत्रकार महासंघको टोली राजधानी केन्द्रीत आन्दोलन गर्ने भन्दै त्यहाँबाट फर्किएको छ।

थापाको हत्या आरोपमा समातिएका पाँच जना मध्ये हालसम्म तीन जनाको बयान भैसकेको छ।

अदालतले अनुसन्धानका लागि द्रोश्रो पटक थपेको सात दिनको म्याद माघ ३ गते सकिनेछ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।