राष्ट्रपतिसँग म्याद थप्न आग्रह नगर्ने: सत्तापक्ष

पछिल्लोपल्ट अपडेट गरिएको: 14.01.13, 20:29 NST सम्मका समाचार

एकीकृत माओवादी र मधेशी मोर्चाको बैठकले राष्ट्रपतिसँग म्याद नथप्न आग्रह गर्ने निर्णय गरेको छ

सत्तारुढ एकीकृत माओवादी र मधेशी मोर्चाले राष्ट्रपतिसँग अब म्याद थप्न आग्रह नगर्ने निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई र मधेशी मोर्चाका नेताहरुको बैठक बसेको थियो।

बैठकले राष्ट्रपतिसँग अब म्याद थप्न आग्रह नगर्ने निर्णय गरेको सूचना तथा सन्चार मन्त्री राजकिशोर यादव बताउँछन्।

उनी भन्छन्, "सहमति खोज्ने दलहरुले हो, राष्ट्रपतिले बारम्बार म्याद थप्नुको अर्थ छैन, त्यसैले मंगलवार हामीले अब म्याद नथप्न राष्ट्रपतिलाई आग्रह गर्नेछौं।"

राष्ट्रपति रामबरण यादवले नयाँ चुनाव गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भनेर चार राजनीतिक शक्तिलाई झण्डै दुइ महिना अघि लिखित आग्रह गरेका थिए।

राष्ट्रपतिले दिएको नौ पटकको म्याद समाप्त हुँदा पनि चार राजनीतिक शक्तिले सहमतिको सरकार बनाउन सकेनन्।

त्यसैले राष्ट्रपति रामबरण यादवले विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मंगलबार परामर्शका लागि आफ्नो निवासमा निम्त्याएका छन्।

राष्ट्रपतिको आग्रह सँगसँगै त्यसबेला जारी विरोधका कार्यक्रम स्थगित गरेर सत्तारुढ दलसँग वार्ता गर्दै आएका विपक्षीहरुले सहमतिको संभावना टरेको बताएका छन्।

सशक्त विरोध

"सहमति खोज्ने दलहरुले हो, राष्ट्रपतिले बारम्बार म्याद थप्नुको अर्थ छैन त्यसैले भोली हामीले अब म्याद नथप्न राष्ट्रपतिलाई आग्रह गर्छौं"

राजकिशोर यादव, सूचना तथा सन्चार मन्त्री

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने प्रस्ताव सत्तापक्षले बारम्बार अस्वीकार गरेपछि विस्मित भएका मुख्य विपक्षीहरुको सोमबार साँझ बसेको बैठकले सरकारका क्रियाकलापको उनीहरुकै शब्दमा सशक्त विरोध गर्ने निर्णय गरेको छ।

कोइराला निवासमा बसेको कांग्रेस तथा नेकपा एमालेको बैठकका सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेल भ्रष्टाचारका काण्ड, हत्या काण्ड दवाउने प्रयास र अरु दलहरुलाई दिएको धम्की लगायतका कुरा उठाएर सशक्त विरोध गर्ने निर्णय गरेको बताउँछन्।

काठमाण्डूस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, संविधान सभाको अवसानसँगै दुइतिर ध्रुबीकृत भएका सत्तारुढ दल र विपक्षीहरुलाई राष्ट्रपति रामबरण यादवले सहमतिको सरकार बनाउन गरेको आह्वानले क्षणिक रुपमा एक ठाउँमा ल्याएको देखिए पनि उनीहरुबीचको दुरी तत्काल साँघुरिने लक्षण देखिँदैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।