थापा हत्याबारे अनुसन्धान अघि बढाउन आदेश

पछिल्लोपल्ट अपडेट गरिएको: 15.01.13, 21:45 NST सम्मका समाचार
डेकेन्द्र थापकी आमा

अदालतको आदेशपछि आफूहरूलाई न्याय पाउने आशा बढेको थापाका परिवारजनले बताएका छन्

पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपीहरुमाथि कारवाही अघि नबढाउन महान्यायाधीवक्ता मुक्ती प्रधानले दिएको लिखित निर्देशनको चौतर्फी विरोध भईरहेका बेला सर्वोच्च अदालतले पनि उक्त निर्देशन कार्यान्वयन नगर्न मंगलबार सरकारलाई आदेश दिएको छ।

महान्यायाधिवक्ताले सरकारी वकिल कार्यालय दैलेखलाई हत्या अभियोगमा समातिएका पाँच जनामाथि कुनै पनि कानूनी कारवाही प्रक्रिया अघि नबढाउन पाँच दिनअघि निर्देशन दिएका थिए।

उनको त्यो निर्देशन विरुद्ध अधिवक्ता गोविन्द बन्दीले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले दिएको उक्त आदेशमा हाल प्रचलित कानून अनुसार अनुसन्धान अघि बढाउन भनिएको छ।

'न्याय'

सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेशका रुपमा विचाराधीन रहेको अवस्थामा रहेको कारणले मात्रै फौजदारी न्याय प्रणालीलाई निष्क्रिय बनाउन नहुने आदेशमा उल्लेख गरीएको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले बताए।

“अनुसन्धानको अन्तिम उद्देश्य न्याय हो र त्यसलाई अन्यथा हुने गरी कहीं कतैबाट केही किसिमको कार्य गर्नु हुँदैन भन्ने हिसाबले आदेशमा व्याख्या गरिएको छ।”

"अनुसन्धानको अन्तिम उद्देश्य न्याय हो र त्यसलाई अन्यथा हुने गरी कहीं कतैबाट केही किसिमको कार्य गर्नु हुँदैन भन्ने हिसाबले आदेशमा व्याख्या गरिएको छ"

हेमन्त रावल, सहायक प्रवक्ता, सर्वोच्च अदालत

अदालतले हत्या आरोपीमाथि शुरु भएको कारवाही प्रक्रिया नटुङ्गिदासम्म कुनै हस्तक्षेप नगर्न भनेको उनले बताए।

यदि कुनै हस्तक्षेप भए सर्वोच्च अदालतलाई त्यसको जानकारी गराउन सरकारी वकिलको कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखलाई पनि आदेश दिइएको रावलले बताए।

महान्यायाधिवक्ताको लिखित निर्देशनपछि अनुसन्धान प्रक्रिया रोकेको दैलेख प्रहरीले सर्वोच्च अदालतको आदेश पाएपछि बुधबार नै प्रक्रिया अगाडि बढाइने बताएको छ।

"अदालतको यो आदेशपछि हामी त उच्च मनोबलका साथ अगाडि बढछौ र अनुसन्धान प्रक्रियालाई अगाडी बढाउँछौं"

बिनोद शर्मा, अनुसन्धान अधिकृत

अनुसन्धान अधिकृत बिनोद शर्माले भने, “अदालतको यो आदेशपछि हामी त उच्च मनोबलका साथ अगाडि बढछौं र अनुसन्धान प्रक्रियालाई अगाडि बढाउँछौ।”

स्वागत

महान्यायाधिवक्ताले अनुसन्धान प्रक्रिया रोक्न निर्देशन दिएपछि दैलेख लगायत देशका विभिन्न ठाउँका पत्रकारहरु विरोधमा उत्रेका थिए।

सर्वोच्च अदालतको आदेश सार्वजनिक भए लगत्तै दैलेखमा स्वागत जुलुस निकालीएको थियो।

किटानी जाहेरीमा उल्लेख गरिएका अन्य व्यक्तीलाई पक्राउ नगरेसम्म आन्दोलन नरोकिने पत्रकार महासंघ दैलेखका अध्यक्ष पुस्कर थापाले बताए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।