महासेनानी लामाको रिहाइको निम्ति थप पहल गरिने

पछिल्लोपल्ट अपडेट गरिएको: 17.01.13, 21:04 NST सम्मका समाचार
माओवादी लडाकुहरु

दश वर्षे सशस्त्र द्वन्द्वकालमा नेपाली सेना र माओवादी लडाकुहरुबीच भिडन्तहरु भएका थिए

सरकारले सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन् गरेको अभियोगमा ब्रिटेनमा मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामालाई रिहा गर्न प्रधानमन्त्री बाबुराम भट्टराईमार्फत ब्रिटेनका प्रधानमन्त्रीलाई औपचारिक रूपमा अनुरोध गर्ने भएको छ।

आठ वर्षअघि सशस्त्र द्वन्द्वकालमा यातना दिएको आरोप लागेका लामा जनवरीको पहिलो साता ब्रिटेनमा पक्राउ पर्ने बित्तिकै नेपाल सरकारले कुटनीतिक माध्यमबाट त्यसप्रति आपत्ती जनाएको थियो।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामालाई नेपालमै कानूनी कारवाही गर्नको निम्ति ब्रिटेनबाट रिहा गराउन संपुर्ण प्रयास गर्ने निर्णय गरेको हो।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिएका महासेनानी लामा श्रीमतीलाई भेटन ब्रिटेन गएको बेला उनको निवासबाट ब्रिटिश प्रहरीको विशेष दस्ताले पक्राउ गरेपछि नेपालमा तरंङ्ग उब्जिएको थियो।

यातना दिएको आरोप लागेका लामालाई कानूनी कारवाही गर्न ब्रिटेनको कानूनले आफ्नो बाटो समातिसकेको बेला नेपाल सरकारको पछिल्लो निर्णय आएको हो।

‘अविलम्ब’

बिहीबार सांझ मन्त्रिपरिषदको बैठकले लामालाई नेपाल पठाइदिन अनुरोध गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईमार्फत ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई औपचारिक रूपमा अबिलम्ब पत्राचार गर्ने निर्णय गरेको छ।

त्यसबारे स्वास्थ्यमन्त्री राजेन्द्र महतोले भने, “सबै प्रयास गर्ने प्रधानमन्त्रीले त्याहाँको प्रधानमन्त्रीलाई पत्राचार गर्दै रिहाइको लागि अबिलम्ब अनुरोध गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।”

"सबै प्रयास गर्ने प्रधानमन्त्रीले त्याहाँको प्रधानमन्त्रीलाई पत्राचार गर्दै रिहाइको लागि अबिलम्ब अनुरोध गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ"

राजेन्द्र महतो, स्वास्थ्य मन्त्री

महतोका अनुसार लामालाई ब्रिटेनबाट हिरासत मुक्त गर्न सबै जुक्ती लगाइनेछ।

“त्याहाँ कानुनी परामर्श लिने र धरौटीमा छुटाउन प्रयास गर्ने र अन्य संपुर्ण प्रयास गर्ने निर्णय भएको छ।”

प्रधानमन्त्रीको पत्र कुटनीतिक माध्यमबाट अविलम्ब पठाइने निर्णय भएको मन्त्री महतोले बताए।

‘विश्वव्यापी क्षेत्राधिकार’

सन् २००५मा नेपालमा सशस्त्र द्वन्द्व चर्किएको बेला उनले यातना दिएको भनी परेको उजुरीका आधारमा ब्रिटेनले आफ्नो कानूनको ‘विश्वव्यापी क्षेत्राधिकार’ अनुसार पक्राउ गरेको जनाइएको थियो।

त्यसलगत्तै नेपाल सरकारले काठमाण्ड‍ूस्थित ब्रिटिश राजदूतलाई बोलाएर लामाको पक्राउको औपचारिक रुपमा विरोध गरेको थियो।

छयालीस् वर्षिय लामाले सियरा लिओन र लेबननमा पनि राष्ट्रसंघीय मिसनमा काम गरिसकेका छन्।

पक्राउपछि अदालतमा लामालाई पुर्पक्षको लागि थुनामा राखिएको र उनलाई अर्को साता जनवरी २४ मा अदालतमा हाजिर गराउने बताइएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।