‘जेठमा चुनाव गर्ने गरि सहमतिको प्रयास’

पछिल्लोपल्ट अपडेट गरिएको: 20.01.13, 21:26 NST सम्मका समाचार
प्रमुख दलका नेताहरु

मुठभेडको चिन्ताका माझ सहमति जुटाउन दलहरुबीच गम्भीर वार्ता नभएको हप्तौ भैसक्यो

सत्तारुढ र विपक्षी दलहरुबीच सहमतिको संभावना झन् झन् क्षीण देखिएको बेला एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईबीच जेठमा चुनाव गर्नको निम्ति दलहरुबीच सहमतिको लागि अन्तिम प्रयत्न गर्ने सोच बनेको सो दलका नेताहरुले बताएका छन्।

आइतबार प्रचण्ड र भट्टराईबीचको भेटमा दलहरुबीच सहमति जुटाउन ताजा पहल थाल्नेबारे गम्भीर कुराकानी भएको बताइएको छ।

तर उनीहरुले संकेत गरे झै सहमतिको निम्ति दलहरुबीच वार्ताको कुनै छनक मिलेको छैन।

बरु सत्तापक्ष र विपक्षी दलहरुबीच आरोप-प्रत्यारोप जारी देखिन्छ।

विपक्षी दलहरु र सत्तारुढ गठबन्धनमा रहेका दलहरु बीच मुठभेडको खतरा टड्कारो बन्दै गएको बेला आइतबार प्रचण्ड र उनकै पार्टीका प्रधानमन्त्री बाबुराम भट्टराईबीचको भेटले सहमतिको निम्ति ताजा प्रयत्न शुरु हुने संकेत दियो।

‘अन्तिम प्रयत्न’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार जेठमा चुनाव गर्ने गरि सहमतिको अन्तिम प्रयास गर्ने बारे दुबैबीच छलफल भएको थियो।

"सत्तापक्ष र विपक्ष दुबै सडक गएर निकास निस्किदैन, तैपनि जेठमा चुनावलाई लक्षित गरि सहमति जुटाउन सकिन्छ भनेर अन्तिम प्रयत्न गरौं भन्ने कुरा उठेको छ"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

“सत्तापक्ष र विपक्ष दुबै सडक गएर निकास निस्किदैन, तैपनि जेठमा चुनावलाई लक्षित गरि सहमति जुटाउन सकिन्छ भनेर अन्तिम प्रयत्न गरौं भन्ने कुरा उठेको छ।”

राष्ट्रपतिले दलहरुलाई सहमति जुटाउन ९ पटक दिएको समयसीमा व्यर्थ भएपछि त्यो प्रक्रिया पनि गत साता टुंगियो।

प्रधानमन्त्री भट्टराईले सरकार छोड्न नमान्दा सहमतिय सरकारको नेतृत्वबारेको विवाद चुलिएपछि अवरुद्ध बनेको राजनीतिक प्रक्रियालाई त्राण दिन एक पटक फेरि प्रयास गर्नेबारे दुबै नेता गम्भीर रहेको माओवादी नेताहरुको भनाइ छ।

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाका अनुसार सहमति जुटाउन पार्टी नेतृत्व गम्भीर छ।

‘प्रस्ताव’

"जेठमा चुनाव गर्नको निम्ति यदि केहि सिप लागेन भने स्वतन्त्र व्यक्तीको नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउने प्रस्तावलाई विशेष रुपमा राख्ने कुरा भएको छ"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

“जेठमा चुनाव गर्नको निम्ति यदि केहि सिप लागेन भने स्वतन्त्र व्यक्तीको नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउने प्रस्तावलाई विशेष रुपमा राख्ने कुरा भएको छ।”

राष्ट्रपतिको पटक पटको सहमतिको आह्वान ब्यर्थ भएपछि विपक्षी दलहरुले सडक तताउने संकेत गरिसकेका छन् भने सत्तारुढ गठबन्धन पनि आमसभाको तयारीमा देखिन्छ।

राजनीतिक गतिरोधको निकाससंगै संविधान र चुनाव अनिश्चित भएको बेला पछिल्लो परिस्थितिले सात वर्ष अघिको १२ बुँदे सहमति यताका सहमतिहरु च्यातिन्छन् भन्ने सम्मका माओवादी अध्यक्ष प्रचण्डका चेतावनी सार्वजनिक भएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।