सरकार पत्रकारलाई सुरक्षा दिन प्रतिबद्ध: प्रधानमन्त्री

पछिल्लोपल्ट अपडेट गरिएको: 27.01.13, 20:59 NST सम्मका समाचार

प्रधानमन्त्री र माओवादी अध्यक्षले पत्रकारको सुरक्षाका लागि लिखित सर्कुलर जारी गर्नुपर्ने माग छ

दैलेखबाट विस्थापित पत्रकार र सुर्खेतस्थित क्षेत्रीय प्रशासकबीच तीन बुँदे सहमति भएको छ।

रिले अनशनमा रहेका विस्थापित पत्रकार र क्षेत्रीय प्रशासकबीच भएको सहमतिपछि आफुहरुको अनशन तोडिएको एकजना विस्थापित पत्रकार विष्णु शर्माले बताएका छन्।

पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष समेत रहेका शर्माका अनुसार क्षेत्रीय प्रशासन कार्यालयबाटै पत्रकारहरुको सुरक्षाको जिम्मा लिने, क्षेत्रीय प्रशासककै अगुवाइमा विस्थापितहरुलाई दैलेख फर्काउने र स्थानीय तहमा विस्तृत योजना बनाएर उनीहरुको सुरक्षाको प्रत्याभूति दिने सहमति बनेको छ।

परामर्श

अनशन तोडिए पनि सोमबार सुर्खेतमा रहेको मानव अधिकार आयोगका प्रतिनिधि र पत्रकार महासँघसँगको परामर्शले आफुहरुलाई आश्वस्त तुल्याउन सके छिटै जिल्ला फर्कने उनले बताएका छन्।

दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको शब उत्खनन् भए देखि नै आफुहरुले निरन्तर धम्की र खतराको सामना गर्दै आएको उनी बताउँछन्।

पत्रकारलाई सुरक्षा दिइयोस् भन्दै देशव्यापी रुपमा पत्रकार महासँघले विभिन्न प्रदर्शन गर्दै आएको छ।

प्रतिबद्धता

आइतबारै प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारहरुको सुरक्षा प्रति प्रतिबद्धता जनाएका छन्।

कैलालीमा आफ्नो पार्टीको जिल्ला अधिवेशनमा पुगेका प्रधानमन्त्रीले भनेका छन्, "पत्रकारको सुरक्षा प्रति सरकार प्रतिबद्ध छ, कसैलाई समस्या परेको छ भने हामीलाई जानकारी गराउनोस्, हामी सुरक्षाको प्रत्याभूति दिनेछौं। "

उक्त कार्यक्रममा उनले आफ्ना कार्यकर्तालाई पत्रकारलाई सुरक्षा दिने सरकारको नीतिमाथि सहयोग गर्न आग्रह गरेका छन्।

विस्थापित पत्रकारहरुले भने प्रधानमन्त्री र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले उनका पार्टी कार्यकर्तालाई लिखित सर्कुलर जारी गरेर व्यवहारिक रुपमा पत्रकारहरुको सुरक्षाको प्रत्याभूति जनाउनुपर्ने बताएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।