माओवादीको दिनगन्ती शुरु: कांग्रेस सभापति

पछिल्लोपल्ट अपडेट गरिएको: 03.02.13, 21:08 NST सम्मका समाचार

माओवादी अधिवेशनमा प्रतिनिधि छनोटमा विवाद हुँदा अधिवेशनको दोश्रो दिनका कार्यक्रम प्रभावित भएको छ

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अधिवेशनमा निम्त्याएका पाहुना विपक्षी नेतालाई मन्चमा राखेर 'मर्ने बेलामा कमिलाको प्वाँख उम्रेको' भन्दै आलोचना गरेको भोलिपल्ट विपक्षीहरुले त्यो अवस्था आफ्नो नभै माओवादीको आएको बताएका छन्।

शनिबार माओवादीको मन्चमा प्रचण्डको राजनीतिक दस्तावेज सकारात्मक रहेको टिप्पणी गर्दै शुभकामना दिएका विपक्षीहरुले आइतबार नेपालगन्जमा माओवादीको चर्को आलोचना गरेका हुन्।

माओवादीले आफुहरुलाई भनेको कुरा पानामै लेखेर विरोध सभामा आएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कमिलाको प्वाँख उम्रेको आफुहरुको नभै माओवादीको उम्रेको बताएका छन्।

उनी भन्छन्, "माओवादीको अवस्था निभ्ने बेलाको दियो उज्यालो भएको जस्तै भएको छ।"

दिनगन्ती

रामलिला मैदान नेपालगन्जमा आयोजित सरकार विरोधी सभामा उनले माओवादीको दिनगन्ती शुरु भइसकेको बताए।

अर्को विपक्षी दल नेकपा एमालेका नेता के पी ओलीले आफ्नो माओवादीसँग रिसइवी नरहेको तर उनीहरुलाई ठेगानमा ल्याउन उनीहरु विरुद्ध कडा अभिव्यक्ति दिने गरेको बताएका छन्।

"माओवादीको अवस्था निभ्ने बेलाको दियो उज्यालो भएको जस्तै भएको छ"

सुशील कोइराला, सभापति, नेपाली कांग्रेस

उता हेटौंडामा महाधिवेशन प्रतिनिधि चयनबारे विवाद चर्कँदा एकीकृत माओवादीको महाधिवेशनको बन्द सत्र आइतबार निकै ढिला गरी शुरु भएको छ।

बन्द सत्र

केही जिल्लाका प्रतिनिधि छनौटमा देखिएको मतभेद र प्रतिनिधिहरुको परिचय पत्र बनाउन ढिलाई हुनाले निर्धारीत समय भन्दा ढिलो गरि बन्द सत्र शूरु भएको बताइएको छ।

बन्द सत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ अबेर गरी राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।

बन्द सत्र ढिलो शुरु भए पनि महाधिवेशन सिध्याउने पूर्व निर्धारीत योजना त्यसले प्रभावित नगर्ने प्रवक्ता सापकोटाले बताएका छन्।

कार्यक्रम समयमा शुरु नभएकाले सहभागि हुन आएका प्रतिनिधिहरु हैटौडा कपडा उद्योगको परीसरमा दिनभर ओहोर दोहोर गरिरहेका देखिन्थे।

भागबण्डा मिलाउँदा महाधिवेशनमा भाग लिने प्रतिनिधि र पर्यवेक्षकको संख्या ३५ सय पुगेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।