प्रचण्ड-बाबुराम सम्बन्ध

पछिल्लोपल्ट अपडेट गरिएको: 04.02.13, 23:29 NST सम्मका समाचार
प्रचण्ड तथा बाबुराम भट्टराई

प्रचण्ड तथा भट्टराईबीच आपसमा अविश्वास रहेको बताइन्छ

एकता महाधिवेशनको नाम दिइएको एकीकृत माओवादीको सातौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई नयाँ एकताका साथ उभिएको बताइएको छ।

महाधिवेशनको उद्घाटनमा पनि उनीहरुले एक अर्काको बचाउ र प्रशंसा गरेका थिए।

तर भित्रभित्र दुबै नेताबीच चरम अविश्वास, शंका र कटुतापूर्ण सम्बन्ध रहेको भनि बेलाबखत चर्चा भएको पाइन्छ।

महाधिवेशन उद्घाटनमा जस्तै केही दिन यता प्रचण्ड र बाबुराम भट्टराईले एक अर्काप्रति पूर्ण भरोसा रहेको भाव प्रकट गर्दै आएका छन्।

"बाबुरामले राजनैतिक विश्लेषण गर्ने र संगठनमा चाहिं प्रचण्डको पकड भएकोले त्यहाँबाट अनुमोदन गराउने। जहिलेसम्म उहाँहरुको यो सम्बन्ध रही रहन्छ पार्टी चलाउन संभव हुन्छ"

मुमाराम खनाल, वामपन्थी विश्लेषक

प्रधानमन्त्री भट्टराई निकट एक नेताका अनुसार सम्बन्ध रत्तिभर पनि त्यस्तो छैन्।

तर पनि एकभएर महाधिवेशनमा पुग्नुको कारणबारे माओवादी त्यागेर लेखन, विश्लेषणमा लागेका वामपन्थी विश्लेषक मुमाराम खनालले भने, “बाबुरामले राजनैतिक विश्लेषण गर्ने र संगठनमा चाहिं प्रचण्डको पकड भएकोले त्यहाँबाट अनुमोदन गराउने। जहिलेसम्म उहाँहरुको यो सम्बन्ध रही रहन्छ पार्टी चलाउन संभव हुन्छ। तर दुवै बीचको ब्यक्तिगत महत्वाकांक्षाले गर्दा कटुता पनि आउने गर्दछ। यी दुई कुरामा सन्तुलन कायम गर्दै अघि बढेकोले दुबैलाई फाइदा पनि पुगी राखेको छ।“

नीति र नेता

कम्युनिष्ट पार्टीमा जसको नीति उही नेता बन्ने र बुझ्ने गरिन्छ।

भट्टराई निकटकाहरुको भनाइमा शान्तिपूर्ण राजनीतिमा अवतरण हुने मैदान तयार गरिदिएको चुनवाङ् बैठकको प्रस्ताव होस् वा कतिपयका विचारमा हिंसात्मक राजनीतिको बचेखुचेको अस्तु हेटौडामा सेलाउन तयार गरिएको राजनीतिक प्रतिवेदन भट्टराईकै हो।

यति हुँदा पनि यो सहकार्यलाई डो-याउने तत्व के हो ?

अर्का पूर्व माओवादी नेता मणि थापाले भने, “यो महाधिवेशनमा प्रचण्ड र बाबुराम बीचको सम्बन्ध एकले अर्कोलाई रक्षा गर्ने कोणसम्म पुगेको छ।“

राष्ट्रपतिसँग मिलेर प्रचण्डले आफूलाई अपदस्त गर्ने षडयन्त्र गरेको प्रधानमन्त्री भट्टराईको बुझाइ रहेको उनी निकटहरु बताउंछन्।

"भट्टराईको संगठनमा प्रभाव कम छ। प्रधानमन्त्री भैसके पछि संगठनमा उहांको प्रभाव केही बढेको छ। त्यसको रक्षा गर्न महाधिवेशनमा जाँदासम्म उहाँ प्रधानमन्त्रीको फुली सहित जान चाहनु हुन्छ"

मणि थापा, पूर्व माओवादी नेता

तर महाधिवशेनपछि राजीनामा दिने नै हो भने प्रचण्डलाई फेरि पनि अध्यक्षको रुपमा स्वीकार गर्नुको कारण के हुन सक्छ?

मणि थापा भन्छन्, “भट्टराईको संगठनमा प्रभाव कम छ। प्रधानमन्त्री भैसके पछि संगठनमा उहांको प्रभाव केही बढेको छ। त्यसको रक्षा गर्न महाधिवेशनमा जाँदासम्म उहाँ प्रधानमन्त्रीको फुली सहित जान चाहनु हुन्छ।“

कतिपयको बुझाइमा सशस्त्र संघर्षकालमा भट्टराईको स्वभाव संगठनमा पकड बनाउन खोज्ने खालको थिएन।

कार्यकर्ता संरक्षण

पछिल्ला केही वर्षयता कार्यकर्ता संरक्षणमा ध्यान दिन थालेकाले संगठनमा उनको पकड विस्तार भएको बताइन्छ।

तर विश्लेषक खनाल त्यस्तो भनाइसंग पूर्ण सहमत छैनन्।

उनले भने, “सरकारमा हुँदा जुन संगठन बनेको भन्ने देखिन्छ, त्यो दूध उम्ले जस्तो हो। किनकि आगो निभाउने बित्तिकै त्यो दूध आफ्नै आकारमा आई हाल्छ। अहिले पनि पार्टीमा बाबुरामको मुश्किलले २० प्रतिशत पकड छ। त्यो पनि पश्चिममा होइन, पूर्वमा।“

प्रचण्ड र भट्टराईबीच आशंका कतिसम्म छ भने आफू प्रतिकूल आउने समाचारहरु दिएको आरोप उनीहरुले एकअर्का माथि लगाउने गर्छन्।

यति हुँदाहुँदै पनि दुबै नेता पूर्वपश्चिम राजमार्गमा अवस्थित हेटौंडाबाटै विपरित राजनीतिक राजमार्ग तर्फ लागि हाल्ने अडकल गर्नु अहिले नै हतार हुनेछ।

कम्तीमा पनि भट्टराईलाई पार्टीभित्र चामत्कारिक रुपमा पकड विस्तार र पार्टी बाहिरको स्वतन्त्र जनमत आफ्नो पक्षमा बनेको नलाग्दासम्म त्यो अवस्था आउने देखिन्न।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।