प्रचण्डको प्रस्तावप्रति पार्टीभित्रै असन्तुष्टी

पछिल्लोपल्ट अपडेट गरिएको: 05.02.13, 22:42 NST सम्मका समाचार
माओवादी महाधिवेशन

बन्द सत्रमा सरकारले गरेको बिप्पा सम्झौताप्रति असन्तुष्टी ब्यक्त भयो

मध्य नेपालको हेटौंडामा जारी एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनितिक प्रतिवेदनमा उनकै पक्षका प्रतिनिधिहरुले असन्तोष व्यक्त गरेका छन्।

प्रतिवेदनमाथी विचार व्यक्त गर्ने क्रममा मंगलबार ४० जना टोली प्रमुख मध्ये प्रचण्ड पक्षकै बढी थिए।

उनीहरुले माओवादी सरकारमा रहेकै वेला भारतसंग गरिएको लगानी सम्बन्धी बिप्पा सम्झौता, सीमा सुरक्षा र सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टी व्यक्त गरेका थिए।

विवाद

बन्द सत्रमा रहेका प्रतिनिधिहरुले सरकारले गरेको बिप्पा सम्झौताप्रतिमात्रै असन्तुष्टी जनाएनन् सीमा विवादबारे जनमत संग्रह गर्ने प्रचण्डको प्रस्तावले सिक्किमीकरण र फिजीकरणको बाटोमा लाने आशंका व्यक्त गरे।

"सरकारको तर्फबाट बिप्पा सम्झौता ठिक हो भनिएको छ तर पार्टीको तर्फबाट विरोध भएकोले थप छलफल हुँदैछ"

दण्डपाणी पौडेल,माओवादी प्रतिनिधि

उनीहरुको असन्तुष्टी बारे प्रकाश पार्दै नेता गोपाल किराँतीले भने, “केहि साथीहरुले सीमाना जस्तो विषयमा त्यसो गर्नु नहुने प्रस्ताव गर्नु भएकोले त्यस विषयमा थप छलफल हुने भएको छ।”

साथै अबको अन्तर-विरोध अर्थात दुश्मनका रुपमा नेकपा एमाले र कांग्रेसलाई किटान गर्नु पर्ने अनि पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने बिषय प्रतिवेदनमा नसमेटिएको भन्दै प्रतिनिधिहरुले आलोचना गरेका थिए।

बिप्पा सझौताको आलोचना सही हो भन्ने प्रश्नको जवाफमा बन्द सत्रमा सहभागी प्रतिनिधि दण्डपाणी पौडेलले भने, “सरकारको तर्फबाट बिप्पा सम्झौता ठिक हो भनिएको छ तर पार्टीको तर्फबाट विरोध भएकोले थप छलफल हुँदैछ।”

असन्तुष्टीका स्वर

सहभागी शालिग्राम जमरकट्टेलले आफु विरुद्ध आक्रमण गरेका अभियुक्तले समेत महधिवेसनमा भाग लिईरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए।

बन्द सत्र चलिरहंदा कतिपय महिला सहभागीहरुले बहुबिबाह गरेका व्यक्तिहरुले पनि महाधिवेशनमा भाग लिईरहेको भन्दै बाहिर निकाल्न आवाज उठाएका थिए।

महाधिवेशनमा प्रतिनिधिहरुले प्रतिवेदनमाथि सुझाब दिने कार्य बुधबार सकिने प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए।

प्रतिनिधिहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

महाधिवेशन माघ २५ गते बिहिबार भित्र नै संपन्न गर्न अध्यक्ष प्रचण्डबाट निर्देशन भएको बताइएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।