एकीकृत माओवादीको सातौं महाधिवेशन सम्पन्न

पछिल्लोपल्ट अपडेट गरिएको: 08.02.13, 22:31 NST सम्मका समाचार
महाधिवेशन स्थल

हेटौडामा महाधिवेशन स्थल निकै सिंगारिएको थियो

हेटौडामा भएको एकीकृत नेकपा माओवादीको महाधिवेशन अस्थायी शिविरहरुमा भएका भनिएका आर्थिक अनियमितताको विषयलाई लिएर पूर्व लडाकूहरुको विरोध र नारावाजी झेल्दै सकिएको छ।

महाधिवेशनले एकीकृत नेकपा माओवादीको महाधिवेशन पूर्व अनुमान जस्तै प्रचण्डलाई फेरि अध्यक्ष चयन गरेको छ।

तर नेतृत्वको उत्तराधिकारी विकास गर्ने भनिएको महाधिवेशनले त्यसो गर्न नसकेको ठानिएको छ।

अध्यक्ष प्रचण्डले हेटौंडा महाधिवेशनबाट आफ्नो थप कार्यकाल अनुमोदन गराएका छन्।

उनकै प्रस्तावमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पूर्ववत उपाध्यक्षको जिम्मेवारी पाएका छन्।

चासो

नेतृत्व उत्तराधिकारीको विकास नगरेकाले विश्व कम्युनिष्ट आन्दोलन संकटमा परेको विश्लेषण गरिएको प्रचण्डको राजनीतिक प्रतिवेदनमा महाधिवेशनले त्यो काम गर्ने उल्लेख थियो, जसले गर्दा भावि अध्यक्षको दावेदार ठानिने महासचिवमा धेरैको चासो थियो।

पार्टी फुटेदेखि रिक्त रहेको उक्त पद भविष्यमा अध्यक्ष बन्ने सम्भावना नरहेका भनिने प्रचण्ड निकट बरिष्ठ नेता पोष्टबहादुर बोगटीलाई दिइएको छ।

प्रचण्ड निकट कैयौं नेता कार्यकर्ता कृष्णबहादुर महरालाई महासचिव बनाउने पक्षमा थिए।

महासचिव बनेको भए उनका निम्ति भावी अध्यक्ष बन्ने बाटो सजिलो हुने ठानिएको थियो।

तर प्रधानमन्त्री भट्टराई र प्रचण्ड पक्षकै एकथरी नेता उनको विपक्षमा उभिएको बुझिएको छ।

महासचिवको जिम्मेवारी पाएका बोगटीको एकल नेतृत्वको आयोगको कामलाई लिएर महाधिवेशनमा पूर्व माओवादी लडाकुहरुले केही बेर विरोध जनाएका थिए।

संचार माध्यमलाई प्रवेश दिइएको महाधिवेशन समापनमा प्रचण्डले पदको शपथ लिएका थिए।

त्यसपछि उनले नवनिर्वाचित ९७ जना केन्द्रिय सदस्यलाई पनि पदको शपथ खुवाएका थिए।

१५१ सदस्यीय केन्द्रिय समितिका अन्य सदस्य तथा पदाधिकारी काठमाण्डू गएरै चुन्ने प्रचण्डले जनाएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।