दलहरु ताजा विकल्पको प्रयत्नमा

पछिल्लोपल्ट अपडेट गरिएको: 10.02.13, 21:05 NST सम्मका समाचार

संविधान सभाको नयाँ चुनावको नेतृत्व खोज्ने साझा प्रयत्न गर्न दलहरु तत्पर भएका छन्

संविधानसभाको दोश्रो चुनाव गर्नेमा सहमत भएका तर चुनावी सरकारको नेतृत्व आफु अनुकुलको बनाउन लडाइ गरिरहेका मुख्य राजनीतिक दलहरु नयाँ चरणको वार्तामा बस्ने भएका छन्।

मुख्य विपक्षी नेपाली कांग्रेस र नेकपा एमाले यस अघि उनीहरुका तर्फबाट प्रस्तावित कांग्रेस सभापति सुशील कोइरालाको विकल्प खोज्न तयार भएका छन्।

देशलाई नयाँ चुनावतर्फ मोड्न मुख्य भूमिकामा रहेको एकीकृत माओवादीले पनि यस अघि भनिए झैं प्रधानन्यायाधिशको नेतृत्व सबभन्दा उत्तम उपाय नभनेर सबै विकल्पमा वार्ता गर्न आफुहरु तयार रहेको बताएको छ।

साझा धारणा

सत्तारुढ माओवादीसँग 'निर्णायक रुपमा प्रस्तुत हुन' विपक्षी दलहरु कांग्रेस र एमालेले साझा धारणा बनाएका छन्।

कांग्रेस एमालेबीच आइतबार भएको बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्छन्, "चुनावलाई केन्द्रबिन्दुमा राखेर हामी माओवादीसँग निर्णायक रुपमा प्रस्तुत हुन्छौं।"

सरकार विरुद्ध आन्दोलनमा रहेका विपक्षीहरुले यस अघि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वबारे बारम्बार अडान राखेको भएपनि त्यसमा लचक हुने संकेत पौडेलले दिएका छन्।

पौडेलेको भनाइ पुष्टी गर्दै बैठकका अर्का सहभागी एमाले अध्यक्ष झलनाथ खनाल भन्छन् 'एउटै विकल्प हुनुपर्छ भन्नेमा छैनौं छलफलका क्रममा उपयुक्त विकल्प आयो र त्यो व्यवहारिक हुन्छ भन्ने लाग्यो भने त्यसमा जान हामी तयार हुन्छौं।'

विभिन्न विकल्प

शनिबार राष्ट्रपति समक्ष भएको परामर्शमा विपक्षीहरुलाई विश्वस्त तुल्याउन प्रयास गरेका प्रचण्डसँग आइतबार विहान कुराकानी गरेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५मा निर्वाचन गर्ने गरी कुराकानी गरिने बताएका छन्।

"एउटै विकल्प हुनुपर्छ भन्नेमा छैनौं छलफलका क्रममा उपयुक्त विकल्प आयो र त्यो व्यवहारिक हुन्छ भन्ने लाग्यो भने त्यसमा जान हामी तयार हुन्छौं"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

उनी दलहरुबीच नेतृत्वबारे विभिन्न विकल्पबारे छलफल हुने र सहमतिमा तय गरिने बताउछन्।

यस अघि चुनावी सरकारको नेतृत्व राजनीतिक दलबाटै हुनुपर्नेमा अड्डी लिँदै आएका विपक्षीले अब लचकता देखाउने भएपछि माओवादीले नै अघि सार्दै आएका विकल्पहरु: नागरिक समाज, बहालवाला प्रधानन्यायाधीश वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वको चुनावी सरकारबारे दलहरुबीच कसरत केन्द्रित हुने देखिन्छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, तर बेलाबखत महत्वपूर्ण निर्णय गर्ने तर कार्यान्वयनमा लग्न नसक्ने दलहरुको प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका पनि कायमै छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।