‘चुनावी सरकार बनाउने बाटो खुला’

पछिल्लोपल्ट अपडेट गरिएको: 16.02.13, 22:23 NST सम्मका समाचार
प्रधानन्यायाधीश खिलराज रेग्मी

प्रधानन्यायाधीश रेग्मीले भने अझै मुख खोलेका छैनन्

दुई दिन लामो बैठकपछि अन्तत: नेकपा एमालेको केन्द्रिय कमिटिले शनिबार चुनावी सरकारको गठन गर्न सबै विकल्प खुला राख्ने निर्णय गरेपछि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन बाटो खुलेको देखिएको छ।

वर्तमान सरकारलाई तत्काल हटाउन सबैभन्दा आवश्यक भएको हुनाले चुनावी सरकारको नेतृत्वमा विकल्प खुला राख्ने निर्णय गरिएको एमालेका नेताहरुले बताए।

शनिबार अबेर शीतल निवासस्थित राष्ट्रपति निवासमा शुरु भएको प्रमुख राजनीतिक दलहरुको वार्ता आइतबार फेरि बस्ने जनाइएको छ।

वार्ताका एकजना सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अन्य साना दलहरुसंग समेत परामर्श गरी नेतृत्व लगायत अन्य विषयमा प्याकेजमै सहमति गरिने छ।

त्यसका लागि सोमबार सर्वदलीय बैठक बोलाइएको पनि उनले बताए।

"बाबुरामको सरकार हटाउन अनि जेठ महिनाभित्र चुनाव गराउनका निम्ति सम्भव सबै विकल्प प्रयोग गर्ने र सबै विकल्प खुला राख्ने निर्णय भयो। ती विकल्पमा प्रधानन्यायाधीशको नेतृत्वको सरकार पनि पर्छ"

रघुजी पन्त, नेता, नेकपा एमाले

यसबाट चुनावी सरकार गठन संबन्धी सहमति जुटाउन कम्तीमा अर्को दुई दिन लाग्ने देखिएको छ।

गतिरोध

नेकपा एमालेको पछिल्लो निर्णयले झण्डै नौ महिना लामो राजनीतिक गतिरोधको अन्त्य गर्ने ठानिएको छ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन सत्ताधारी एकीकृत नेकपा माओवादी तथा विपक्षी नेपाली कांग्रेसले यस अघिनै स्वीकृति जनाइसकेका छन्।

तर उक्त निर्णयमा पुग्न एमालेलाई सहज भने भएको थिएन।

शुक्रबार दिनभर कुनै निष्कर्ष ननिस्किएपछि शनिबार बिहानै बल्खुमा केन्द्रिय कमिटिको बैठक पुन शुरु भएको थियो।

तर निचोडमा पुग्न पुरै दिन लाग्यो।

एमालेका एकजना नेता रघुजी पन्तले भने, "बाबुरामको सरकार हटाउन अनि जेठ महिनाभित्र चुनाव गराउनका निम्ति सम्भव सबै विकल्प प्रयोग गर्ने र सबै विकल्प खुला राख्ने निर्णय भयो। ती विकल्पमा प्रधानन्यायाधीशको नेतृत्वको सरकार पनि पर्छ।"

संकेत

केही समय अघिसम्म प्रधानन्यायाधीशले राजीनामा नगरीकन कुनै हालतमा उनको नेतृत्वमा चुनावी सरकार बनाउन नहुने भन्दै आएका एमालेका नेताहरुले शनिबारको बैठकपछि भने गोलमटोल भाषामा त्यो पनि स्वीकार्य हुन सक्ने संकेत दिएका छन्।

त्यसो भए के अब रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरीकनै चुनावी सरकारको नेतृत्व लिन पाउने हुन्?

एमाले नेता पन्तले भने, "यो विषयमा हामीले विस्तृत छलफल गरेनौं। यो कुरा हाम्रो निर्णयमा उल्लेखपनि छैन। आजको हाम्रो निर्णय सर्वसम्मत हो। बाबुरामको सरकार हटाउनु अहिले मुख्य आवश्यकता हो। त्यसको लागि सबै विकल्प खुला राखेर अघि बढ्ने भनेका हौं।"

एमालेको बैठकपछि मुख्य दलका नेताहरु चुनावी सरकारको बनोट तथा त्यो गठन गर्न आवश्यक संविधान संशोधन लगायतका कानुनी प्रक्रियाहरुलाई अन्तिम रुप दिने कसरतमा लागेका छन्।

काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, जेठमा चुनाव गर्ने गरी बनाइन लागिएको भनिएको चुनावी सरकारमा को को सहभागी हुने र उसलाई के कस्तो कार्यकारिणी अधिकार दिने भन्ने अझै प्रष्ट पारिएको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।