'जेठ २२ मा नयाँ चुनाव गर्ने सहमति'

पछिल्लोपल्ट अपडेट गरिएको: 18.02.13, 20:52 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

चुनाव गर्न नसके त्यही सरकारलाई निरन्तरता दिने/नदिनेमा टुङगो नलागेको नेताहरुले बताए

नयाँ चुनावी सरकार गठन गर्ने अन्तिम तयारीमा जुटेका प्रमुख दलका शीर्ष नेताहरुबीच आउँदो जेठ २२ गते संविधानसभाको नयाँ निर्वाचन गर्ने सहमति भएको छ।

दुई दिन पहिले गठित कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले अब बढीमा ११ सदस्यीय चुनावी मन्त्रिपरिषद् बनाउने निर्णय पनि गरेका छन्।

आफूहरुको प्रस्तावबारे अब प्रधानन्यायाधीश खिलराज रेग्मीसँग छिट्टै कुराकानी हुने नेताहरुले बताए।

नयाँ सरकार निर्माणका लागि आवश्यक पर्ने कानुनी तथा प्रशासकीय ढाँचा टुंग्याउन दुई दिन अघि गठित कार्यदलले सोमबार दिएको सुझावका आधारमा अब प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गरी जेठको तेस्रो साता चुनाव गर्ने सहमति भएको शितल निवासको बैठकपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बीबीसीलाई बताए।

"अव बढीमा १० वा ११ जनाको सानो मन्त्रिपरिषद् बन्छ र त्यसमा पूर्व प्रशासक एवं कानुनी क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्ति सम्मिलित हुन्छन्"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

उनले भने, “हामीहरुबीच प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने र आउँदो जेठ २२ मा संविधानसभाको नयाँ चुनाव गर्ने सहमति भएको छ।”

मन्त्रिपरिषद्

अब बन्ने चुनावी मन्त्रिपरिषद्को आकार र त्यसमा सहभागी हुने सदस्यबारे सोधिएको प्रश्नमा एमाले अध्यक्ष खनालले भने, “अब बढीमा १० वा ११ जनाको सानो मन्त्रिपरिषद् बन्छ र त्यसमा पूर्व प्रशासक एवं कानुनी क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्तिहरु सम्मिलित हुन्छन्।”

कार्यदलले बुझाएको प्रतिवदेनमा राजनीतिक दल र सरकारबीचको सम्बन्ध, संविधान संशोधन, बाधा अड्काउन फुकाउ, निर्वाचन क्षेत्र, नागरिकता वितरण र विशेष मतदाता अभियान लगायतका विषय समेटिएका छन्।

शीर्ष नेताहरुबीच प्रत्यक्ष समानुपातिक र मनोनीत गरि ४९१ सदस्यीय संविधानसभा-व्यवस्थापिका गठन गर्ने सहमति भएको छ।

दलहरुबीच भएका यी सहमतिका विषयमा अबको सरकारको नेतृत्व गर्ने भनिएका प्रधानन्यायाधीश खिलराज रेग्मीसँग छिट्टै कुराकानी हुने कार्यदलका एकजना सदस्य भिम रावलले बताए।

एमाले अध्यक्ष खनालका अनुसार कार्यदलको सुझाव र शीर्ष नेताहरुबीच भएको सहमितको दस्तावेज प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत सोमबार राती वा मंगलबार बिहान सम्म प्रधानन्यायाधीश रेग्मीलाई बुझाउने र उनको धारणा समेत सुनेर त्यसमा थपघट गर्न सकिने मोटामोटी सहमति पनि दलहरुबीच भएको छ।

सरकारले जेठ भित्र चुनाव गर्न नसके प्रधानन्यायाधीश नेतृत्वकै सरकारलाई निरन्तरता दिने कि निदने भन्ने विषयमा अन्तिम टुङ्गो लागी नसकेको पनि अध्यक्ष खनालले बताए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।