'चुनावी सरकार बनाउन मस्यौदा तयार'

पछिल्लोपल्ट अपडेट गरिएको: 23.02.13, 20:57 NST सम्मका समाचार

राजनीतिक कार्यदलले प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन मस्यौदा तयार पारेको छ

प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन गर्न आवश्यक पूर्वाधारको मस्यौदा गरिरहेको राजनीतिक कार्यदलले आफ्नो काम पुरा गरेको बताएको छ।

मतदाता नामावली र शान्ति प्रक्रिया टुंग्याउने विषयमा सुझाव सहितको मस्यौदा शीर्ष नेताहरु कहाँ पठाएको कार्यदलका सदस्यहरुले बताएका छन्।

अब प्रधानमन्त्रीले कार्यदलको परिमार्जित मस्यौदा प्रधान न्यायाधीश कहाँ लग्ने र उनको राय सँगसँगै शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ।

गत बुधबार चार प्रमुख राजनीतिक पक्षका शीर्ष नेता र प्रधान न्यायाधीश खिलराज रेग्मीबीच भएको प्रत्यक्ष कुराकानीका बेला उठेका प्रश्नको जवाफ खोज्न उक्त कार्यदलले काम गरिरहेको थियो।

सुझाव

शनिबार झण्डै पाँच घन्टा उक्त मस्यौदामा काम गरेका कार्यदलका एक सदस्य तथा माओवादी नेता खिमलाल देवकोटाका अनुसार दुइ विषयमा निर्णय गर्न सुझाव सहित शीर्ष नेता कहाँ पठाइएको छ।

उनी भन्छन्, "मतदाता नामावली र शान्ति प्रक्रिया टुंग्याउने विषयमा हाम्रा सुझाव सहित शीर्ष नेताहरु कहाँ पठाएका छौं।"

संबैधानिक र कानुनी जटिलता फुकाउने सम्पूर्ण प्रक्रिया सहितको मस्यौदा तयार भएको कार्यदलका अर्का सदस्य तथा नेपाली कांग्रेस नेता विमलेन्द्र निधि बताउँछन्।

निधिका अनुसार अब प्रधानमन्त्रीले मस्यौदामा प्रधान न्यायाधीशको राय लिएपछि चार राजनीतिक शक्तिका शीर्ष नेताहरुको बैठक बस्नेछ।

चार प्रमुख दलको प्रस्ताव अनुसारको चुनावी सरकारको नेतृत्व स्वीकार गर्नु अघि कानुनी र राजनीतिक वातावरण बनाउन प्रधान न्यायाधीशले दलहरुसँग आग्रह गरेको बताइन्छ।

जिम्मा

"मतदाता नामावली र शान्ति प्रक्रिया टुंग्याउने विषयमा हाम्रा सुझाव सहित शीर्ष नेताहरुकहाँ पठाएका छौं"

खिमलाल देवकोटा, नेता, एकीकृत माओवादी

निधिका अनुसार मस्यौदामा प्रस्तावित राजनीतिक संयन्त्रलाई राजनीतिक वातावरण बनाउने जिम्मा लगाइएको छ।

उनी भन्छन्, "संविधान सभाको चुनाव गराउन राजनीतिक वातावरण बनाउने जिम्मा राजनीतिक संयन्त्रलाई दिइएको छ।"

"संविधान सभाको चुनाव गराउन राजनीतिक वातावरण बनाउने जिम्मा राजनीतिक संयन्त्रलाई दिइएको छ"

विमलेन्द्र निधि, नेता, नेपाली कांग्रेस

प्रधान न्यायाधीश नेतृत्वको चुनावी सरकार बनाउनेमा दलहरुबीच सहमति बनेपनि प्रधान न्यायाधीशले आनाकानी गरेपछि दलहरु उनलाई मान्य हुने प्रस्ताव तयार पार्ने गृहकार्यमा छन्।

कार्यदलको मस्यौदामा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी परिषद बनाउने गरि भाषा परिमार्जन गरिएको कार्यदलका सदस्यले बताएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।