सहमति अझै अनिश्चित

पछिल्लोपल्ट अपडेट गरिएको: 09.03.13, 20:56 NST सम्मका समाचार

दलहरुले घन्टौं बैठक बसेपनि चुनावका लागि आवश्यक सहमति गर्न सकेनन्

नयाँ चुनावको ढोका खोल्न प्रधानन्यायाधीश नेतृत्वको सरकार स्वीकार्न तयार भएका बताउने मुख्य चार राजनीतिक शक्तिहरुको बैठक शनिबार पनि अनिर्णित बनेको छ।

चुनावी वातावरण बनाउनु अघि आवश्यक कानूनी र संवैधानिक अड्चन हटाउने विषयमा रहेको मतभेद शनिबार पनि सुल्झिन सकेन।

शनिवार मुख्यत माओवादी लडाकुको दर्जा मिलानमा माओवादीले कर्णेलको अडान राखेपछि सहमति बन्न नसकेको बताइएको छ।

शुक्रबार सबै असहमति टुंग्याउने भनेर हौसिँदै एकठाउँ बसेका दलहरुले शुक्रबार साँझ अबेर सबै कुरा बल्झिएको बताएका थिए।

अनिर्णित

"दुर्भाग्यवश कुरा मिल्न सकेन, दलहरु निर्वाचनप्रति गंभीर नभएको हो कि भन्ने लागेको छ"

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी

शनिबार दिनभर मुद्दा मिलाउन गठित चार समुह सम्बद्ध राजनीतिक कार्यदलले काम गरेको थियो।

साँझ शीर्ष नेताहरु फेरि छलफलमा बसे तर उनीहरु टुंगोमा पुग्न सकेनन्।

बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, "दुर्भाग्यवश कुरा मिल्न सकेन, दलहरु निर्वाचनप्रति गंभीर नभएको हो कि भन्ने लागेको छ।"

चुनावका लागि आवश्यक सहमति खोज्न बस्दै आएका संयुक्त बैठकको परिणामप्रति सकारात्मक देखिँदै आएका एमाले अध्यक्ष झलनाथ खनाल भने अझ पनि आफूहरुबीच सहमति बन्नेमा आश्वस्त देखिएका थिए।

सकारात्मक

"प्याकेजमा सहमति खोज्दैछौं। त्यसमा सानो कुरा मिलेन भने पनि सबै मिल्दैन। तर कुरा सकारात्मक छ, हामी सहमतिको निकट छौं"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

उनले भने, "प्याकेजमा सहमति खोज्दैछौं। त्यसमा सानो कुरा मिलेन भने पनि सबै मिल्दैन। तर कुरा सकारात्मक छ, हामी सहमतिको निकट छौं।"

दलहरुको बैठकमा सबभन्दा मत नमिलेको विषय समायोजन रोजेका माओवादी लडाकुको दर्जा मिलान रहेको सहभागी नेताहरुले जनाएका छन्।

माओवादीले यसअघि सहमति भैसकेको भन्दै कर्णेलमा अडान राखेको तर कांग्रेस र एमालेले नमानेको बताइएको छ।

बीबीसीकी काठमाण्डूस्थित एक संवाददाता भन्छिन्, चुनावसँग सीधा सम्बन्ध राख्ने बाहेकका माओवादी लडाकुको दर्जा मिलान, सत्य निरुपण र मेलमिलाप तथा बेपत्ता छानविन आयोग जस्ता चुनावी मुद्दा बन्न सक्ने विषयहरु पनि बैठकका एजेन्डामा संलग्न गरिएकाले सहमति झन पेचिलो बन्दै गएको देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।