उच्चस्तरीय राजनीतिक समिति गठन

पछिल्लोपल्ट अपडेट गरिएको: 16.03.13, 21:34 NST सम्मका समाचार

दलहरूको उच्चस्तरीय समितिको पहिलो संयोजक एनेकपा माओवादी अध्यक्ष प्रचण्ड बनेका छन्

चार प्रमुख राजनीतिक समुहले एक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन्।

एकिकृत माओवादी, नेपाली का‌ग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताको शुक्रबार बसेको बैकठले त्यस्तो संयन्त्र गठन गरेको हो।

चक्रीय रुपमा एक एक महिना संयोजक रहने गरी गठित आठ-सदस्यीय समितिको पहिलो संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन्।

देशमा सहमतिको वातावरण कायम गर्न, चुनाव गर्ने क्रममा समस्या आइलागे त्यसमा सहमति गरी अन्तरिम मन्त्रीपरिषदलाई सहयोग गर्न भन्दै चार राजनीतिक शक्तिका शीर्ष नेताहरुले उक्त उच्चस्तरीय राजनीतिक समिति गठन गरेका हुन्।

सिफारिश

"हालै अवकाशप्राप्त तीनजना निर्वाचन आयुक्तलाई निरन्तरता दिने समझदारी यस अघिकै हो, थप एकजना महिला र एकजना पुरुष गरी पाँच सदस्यीय बनाउन सिफारिश गर्नेछौं"

नेकपा एमाले अध्यक्ष झलनाथ खनाल

समितिले आइतबार बिहान अन्तरिम चुनावी मन्त्रिपरिषदसमक्ष निर्वाचन आयोगका हालै अवकाशप्राप्त आयुक्तहरुलाई निरन्तरता दिने गरि सिफारिश गर्ने बताइएको छ।

राजनीतिक समितिका एक सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले भने, "हालै अवकाशप्राप्त तीनजना निर्वाचन आयुक्तलाई निरन्तरता दिने समझदारी यस अघिकै हो, थप एकजना महिला र एकजना पुरुष गरी पाँच सदस्यीय बनाउन सिफारिश गर्नेछौं।"

दलहरुले यसअघि राजनीतिक क्षेत्रमा उत्पन्न हुने समस्या समाधान गर्न, असारमा चुनाव गर्न नसके आवश्यक निर्णय गरी अर्को व्यवस्था सिफारिश गर्न र सहमतिको वातावरण कायम गर्न भन्दै उच्चस्तरीय राजनीतिक समिति बनाउने व्यवस्था गरेका थिए।

परामर्श

समितिले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संबैधानिक आयोगबारे पनि क्रमश: निर्णयहरु गर्ने अध्यक्ष खनालले बताए।

तीन सदस्यीय मन्त्रिपरिषदलाई ११ सदस्यीय बनाउनुअघि आफूहरुसँग मन्त्रिपरिषद अध्यक्षले परामर्श गर्ने उल्लेख गर्दै उनले भने, "बाँकी आठ सदस्य परामर्शका आधारमा समावेशी बनाउँदै अध्यक्षले नियुक्त गर्नुहोला।"

काठमाण्डूस्थित बीबीसीकी एक संवाददाता भन्छिन्, कार्यकारी प्रकृतिको मन्त्रिपरिषद र अनौपचारिक प्रकृतिको राजनीतिक समितिबीचको सम्बन्ध समन्वयकारी हुन नसके त्यसले जटीलता थपिने चिन्ताहरू व्यक्त गरिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।