निर्वाचन आयुक्त सिफारिश: नेताहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 17.03.13, 21:04 NST सम्मका समाचार

उच्चस्तरीय राजनीतिक समितिले तीनजना निर्वाचन आयुक्तको नाम सिफारिश गरेको छ

उच्चस्तरीय राजनीतिक समितिले आइतबार हालै अवकाशप्राप्त तीन जना निर्वाचन आयुक्तहरुको नाममा सहमति गरेर अन्तरिम मन्त्रिपरिषदका अध्यक्षसमक्ष सिफारिश गरेको समितिका एक सदस्यले जनाएका छन्।

सरकारले रिक्त संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिकहाँ पुर्‍याएको संबैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपतिले आइतबारै स्वीकृत गरेका छन्।

निर्वाचन आयोग लगायतका सबैजसो संबैधानिक आयोगहरु लामो समयदेखि पदाधिकारीविहीन रहँदै आएका छन्।

निर्णय

उच्चस्तरीय राजनीतिक समितिले हालै अवकाशप्राप्त तीनजना निर्वाचन आयुक्तहरुको नाम अन्तरिम चुनावी परिषदका अध्यक्ष खिलराज रेग्मीसमक्ष पुर्‍याएको समितिका एक सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले बताए।

"हामीले तीनजना आयुक्तबारे निर्णय गरेर चुनावी परिषदका अध्यक्षकहाँ पुर्‍याएका हौं।"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

खनालले भने, "हामीले तीनजना आयुक्तबारे निर्णय गरेर चुनावी परिषदका अध्यक्षकहाँ पुर्‍याएका हौं।"

सबभन्दा पछि अवकाश पाएका तीनजना आयुक्तहरु निलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ हुन्।

बाटो खुला

संसदीय सुनुवाइ नगरी संबैधानिक अंगमा नियुक्ति गर्न नसकिने व्यवस्थालाई हटाइएपछि अब निर्वाचन आयोग लगायतका रिक्त रहँदै आएका आयोगहरुमा नियुक्तिको बाटो खुलेको छ।

सरकारले संबैधानिक परिषद ऐन २०६६ संशोधनका लागि राष्ट्रपति रामबरण यादवकहाँ पुर्‍याएको थियो।

निर्वाचन आयोगका तीन आयुक्तबारे सहमति बनेपनि राजनीतिक समितिमा अन्य व्यक्तिहरुबारे भने छलफल भइरहेको खनाल बताउँछन्।

राजनीतिक समितिका संयोजक एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद अध्यक्ष समक्ष सिफारिश पुर्‍याएका थिए।

अध्यक्षसँग भेटवार्ता सकेर फर्किँदा समितिका संयोजक बनेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले चुनावको मिति सोमबार घोषणा गर्न सुझाव दिएको बताए।

समितिले असार पहिलो साता गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको जनाइएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।