प्रधानन्यायाधीशबाट परिचित नहुन आदेश

पछिल्लोपल्ट अपडेट गरिएको: 18.03.13, 20:11 NST सम्मका समाचार
सपथ लिदै रेग्मी

मन्त्रिपरिषद्को अध्यक्ष भईञ्जेल प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा नजाने रेग्मीले बताईसकेका छन्

अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको पदमा बसुञ्जेल प्रधानन्यायाधीशको पदबाट परिचित नहुन सर्वोच्च अदालतले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका नाममा सोमबार अन्तरिम आदेश जारी गरेको छ।

अदालतले मन्त्रिपरिषद्को अध्यक्षमा बसुञ्जेल न्यायलय प्रमुखको हैसियतमा रेग्मीको कुनै भूमिका नहुने उल्लेख गरेको छ।

स्वतन्त्र न्यायपालिकाको कार्यक्षेत्रमा असर नपरोस् भनेर यस्तो आदेश जारी गरिएको ईजलासको निर्णयमा उल्लेख छ।

एउटै व्यक्ति प्रधानन्यायाधीश र प्रधानमन्त्री पदमा बसीरहनु हुँदैन भन्ने मागकाबीच सर्वोच्च अदालतले एउटा आदेश जारी गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई सोही पदले मात्र परिचित हुन आदेश दिएको हो।

स्वतन्त्र

"यो जिम्मेवारीमा रहँदा सम्म उहाँको प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालतमा कुनै भूमिका नहुने हुँदा चुनावी मन्त्रिपरिषद्को पदमा रहुञ्जेल सोही पदले मात्र परिचित हुन अन्तरिम आदेश जारी भएको छ"

हेमन्त रावल, सह प्रवक्ता, सर्वोच्च अदालत

न्यायाधीश गिरिशचन्द्रलालको ईजलासले दिएको आदेशमा स्वतन्त्र न्यायपालिकाको कार्यक्षेत्रमा कुनै प्रतिकूल प्रभाव नपरोस् भन्ने उद्देश्यले रेग्मीले कार्यकारीको पद सम्हाले सम्म त्यही पदबाट मात्र परिचित हुन भनिएको उल्लेख छ।

आदेशबारे सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले भने, “यो जिम्मेवारीमा रहँदा सम्म उहाँको प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालतमा कुनै भूमिका नहुने हुँदा चुनावी मन्त्रिपरिषद्को पदमा रहुञ्जेल सोही पदले मात्र परिचित हुन अन्तरिम आदेश जारी भएको छ।”

अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश र प्रधानमन्त्री एउटै व्यक्ति हुन नसक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने माग गरिएको थियो।

सकारात्मक

"उहाँले अव चुनावी मन्त्रिपरिषद्को अध्यक्षले मात्र आफूलाई चिनाउनु पर्नेछ, तत्कालका लागि यो एउटा राम्रो उपाय हो र यस्ले सकरात्मक सन्देश जान्छ"

ओमप्रकाश अर्याल, अधिवक्ता

के अब उनीहरुको त्यो माग सम्बोधन भएको हो? रिट निवेदक मध्येका एक ओमप्रकाश अर्यालले भने, “उहाँले अव चुनावी मन्त्रिपरिषद्को अध्यक्षले मात्र आफूलाई चिनाउनु पर्नेछ, तत्कालका लागि यो एउटा राम्रो उपाय हो र यसले सकारात्मक सन्देश जान्छ।”

सर्वोच्चको आदेशमा मन्त्रिपरिषद्को अध्यक्ष भइसकेकाले अहिलेको परिस्थितिमा प्रधानन्यायाधीशको हैसियतमा रेग्मीको कुनै भूमिका नरहने उल्लेख छ।

राजनीतिक दलहरुको सिफारिसमा राष्ट्रपतिले जारी गरेको बाधा अडकाउ फुकाउ आदेशमा चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा बहाल भइञ्जेल रेग्मी सर्वोच्चमा नजाने उल्लेख छ।

सोही व्यवस्था अनुसार सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्यवाहक प्रधानन्यायाधीश भईसकेका छन् भने रेग्मी आफैले पनि मन्त्रिपरिषदको अध्यक्षको पदमा बहाल भइञ्जेल प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा नजाने बताईसकेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।