पदाधिकारी नियुक्तिपछि चुनावको मिति तोकिने

पछिल्लोपल्ट अपडेट गरिएको: 19.03.13, 20:26 NST सम्मका समाचार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा नलिन मन्त्रीहरुलाई निर्देशन समेत दिएको छ

पूर्ण आकार पाएपछि मंगलवार बसेको अन्तरिम चुनावी मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोग लगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेपछि नयाँ संविधानसभा चुनावको मिति घोषणा गर्ने निर्णय गरेको छ।

संवैधानिक निकायमा नियुक्तीका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद गठन भएपछि निर्वाचन आयोग लगायतमा नियुक्तीका लागि सिफारिस गर्न बाटो खुल्नेछ।

परिषद् गठन, संवैधानिक नियुक्ती र चुनावको मिति घोषणा गर्ने काम केही दिनमै सम्पन्न हुने सरकारको भनाइ छ।

अन्तरिम चुनावी मन्त्रिपरिषदले सोमबार पूर्ण आकार पाएपछि मंगलवार दिउँसो सिंहदरवारमा सबै मन्त्रि सम्मिलित पहिलो बैठक बसेको थियो।

"सरकारको प्राथमिकता निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्नेमा छ, आयोग गठन भइसकेपछि त्यो आयोगसँग परामर्श गरेर सरकारले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्छ"

माधव पौडेल, सरकारका प्रवक्ता एवं मन्त्री

बैठकले संवैधानिक परिषदको गठन, त्यसपछि निर्वाचन आयोगमा नियुक्तीका लागि सिफारिस र नियुक्ती प्रक्रिया सकिएपछि आयोगसँगको परामर्शमा चुनावको मिति सार्वजनिक गर्ने निर्णय लिएको हो।

घोषणा

त्यसबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सामान्य प्रशासन र शिक्षा मन्त्री माधव पौडेलले भने, “सरकारको प्राथमिकता निर्वाचन आयोगमा नियुक्त गर्नेमा छ, आयोग गठन भइसकेपछि त्यो आयोगसँग परामर्श गरेर सरकारले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्छ।”

बैठकमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दोहोरो सुविधा नलिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

मन्त्री र मन्त्रालयका कर्मचारीले पाउने नियमित तलब सुविधा बाहेक मातहतका निकायहरुबाट दोहोरो सुविधा लिने गरेका घटनाहरु सार्वजनिक भईरहेकाले यस्तो निर्देनशन दिइएको प्रवक्ता पौडेलले बताए।

मन्त्रिपरिषद्को बैठकले हरेक मन्त्रालयबाट भइरहेका महत्वपूर्ण निर्णयहरु २४ घण्टाभित्र आ-आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको छ।

मन्त्रालयका काम कारवाही पारदर्शी र सर्वसाधारणको पहुँच पुगेको बनाउन यस्तो निर्देशन दिइएको सरकारले बताएको छ।

सरकारका प्रवक्ता मन्त्री पौडेलले संवैधानिक परिषद् गठनको तयारी शुरु भईसकेको बताउँदै छिट्टै निर्वाचन आयोग लगायत रिक्त संवैधानिक निकायहरुमा पदपूर्ति हुने जानकारी दिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।