प्रमुख दलहरु 'चुनावी मैदानमा होमिदै'

पछिल्लोपल्ट अपडेट गरिएको: 20.03.13, 20:48 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्

अन्य ठूला दलहरु भन्दा उत्साहित देखिदैं एकीकृत माओवादीले चुनावको तयारीको निम्ति समितिहरु गठन गरेको बताएको छ।

आशंकाकैबीच पनि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई चुनावी कार्यक्रम लिएर गाउँगाउँमा जान निर्देशन दिइसकेको बताइएको छ।

नेकपा एमालेले पनि चुनावी रणनीतिका विषयमा पार्टीभित्र छलफल थालेको छ।

"साथीहरु देशभरि निर्वाचनको कार्यक्रममा भाग लिइरहेका छन्, तर चिन्ता के छ भने एमाओवादीले जति चर्को स्वरले निर्वाचन चाँडै गर्नु पर्‍यो भन्छ त्यति नै आशंका र दुविधा हुन्छ"

मिनेन्द्र रिजाल, नेता, नेपाली काँग्रेस

अन्तरिम सरकारले निर्वाचन आयोग लगायत संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त भएपछि चुनावको घोषणा गर्ने बताएको एक दिनपछि प्रमुख दलहरुले चुनावमा होमिन पार्टी पंक्तीलाई परिचालन गर्ने संकेत दिएका हुन्।

सक्रियता

एकिकृत माओवादीको केन्द्रिय समितिको बैठकले असारमा चुनाव हुनुपर्नेमा जोड दिंदै घोषणा पत्र तयार गर्न उपाध्यक्ष बाबुराम भट्टराई र उम्मेदवारहरु चयन गर्न महासचिव पोष्टबहादुर बोगटी संयोजक रहने समितिहरु गठन गर्ने निर्णय गरे‌को छ।

सो पार्टीको निर्णयबारे नेता देबेन्द्र पौडेलले भने, “समितिहरु बनेका छन्, अब चुनावमा दृढतापुर्वक लाग्न र तयारी गर्न कार्यकर्ताहरुलाई चुनावको निम्ति पुरै तयार बनाउँदै छौं।”

"स्थायी समितिले चुनावको एजेन्डा बनाएको छ, अब समग्र रुपमा चुनावमा केन्द्रित भएर अघि बढ्दैछौं"

युवराज ज्ञवाली, नेता, नेकपा एमाले

अर्को ठुलो दल नेपाली कांग्रेसले आफ्नो पार्टीको एक भ्रातृ संगठनका प्रतिनिधिहरुलाई चुनावको तयारीको निम्ति गाउँ गाउँमा जान निर्देशन दिएको बताइएको छ।

कांग्रेस नेता मीनेन्द्र रिजालले अनिश्चय र आशंका हुँदाहुँदै पनि आफ्नो दल चुनावको तयारीमा लागिसकेको बताए।

आशंका

उनले भने, “साथीहरु देशभरि निर्वाचनको कार्यक्रममा भाग लिइरहेका छन्, तर चिन्ता के छ भने एमाओवादीले जति चर्को स्वरले निर्वाचन चाँडै गर्नु पर्‍यो भन्छ त्यति नै आशंका र दुविधा हुन्छ।”

अर्को ठुलो दल नेकपा एमालेको स्थायी समितिको बैठकमा पनि चुनावको तयारीलाई जोडतोडका साथ अघि बढाउनेबारे छलफल भएको सो दलका सचिव युवराज ज्ञावालीले बताए।

"समितिहरु बनेका छन्, अब चुनावमा दृढतापुर्वक लाग्न कार्यकर्ताहरुलाई चुनावको निम्ति पुरै तयार बनाउँदै छौं"

देवेन्द्र पौडेल, नेता एकीकृत माओवादी

“स्थायी समितिले चुनावको एजेन्डा बनाएको छ, अब समग्र रुपमा चुनावमा केन्द्रित भएर अघि बढ्दैछौं।”

पुर्ववर्ती सरकारमा रहेका दलहरु सहभागी संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले पनि गठबन्धन बनाएरै चुनावमा जान सकिने विषयमा छलफल थालेका छन्।

‘बहिष्कार’

तर वर्तमान प्रक्रियाको तीव्र विरोध गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले चुनाव बहिष्कार गर्ने सम्मको चेतावनी दोहोर्‍याइरहेको छ।

अन्तरिम चुनावी सरकार गठन हुनुअघि प्रमुख चार राजनीतिक शक्तीहरुबीच भएको सहमति अनुसार संविधान सभाको दोस्रो चुनावका लागि प्रत्यक्ष तर्फ २४० स्थानमा निर्वाचन हुनेछ।

असारको पहिलो साता हुने भनिएको सो चुनाव काबु बाहिरको स्थिति आइपरे मंसिरमा सार्न सकिने सहमतिमा उल्लेख छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।