सिफारिस संविधानसम्मत: परिषद्

पछिल्लोपल्ट अपडेट गरिएको: 23.03.13, 20:03 NST सम्मका समाचार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

निर्वाचन आयोगमा नियुक्तीका लागि यसअघि गरिएको सिफारिसमा परिवर्तन नआएको परिषद्ले बताएको छ

संवैधानिक परिषद्ले निर्वाचन आयोगमा नियुक्तीका लागि यसअघि आफूले गरेको सिफारिस संविधानसम्मत नै भएको जवाफ राष्ट्रपति कार्यालयलाई दिएको छ।

आयोगमा एक कार्यकाल बिताइसकेका पदाधिकारीलाई पुन नियुक्ती गर्न खोजेको बारे संवैधानिक आधार स्पष्ट पार्न भन्दै शुक्रवार राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्लाई पत्र लेखेको थियो ।

शनिवार साँझ बसेको परिषद्को बैठकले राष्ट्रपति कार्यालयले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै यसअघि नै सिफारिसमा परेकालाई नियुक्त गर्न सकिने जवाफ पठाउने निर्णय गरेको हो।

अनुभवी व्यक्ती लैजाँदा चुनाव गराउन सहज हुने बताउँदै संवैधानिक परिषद्ले आयोगमा पहिले काम गरिसकेका आयुक्तहरुलाई सिफारिस गरेपनि त्यसप्रति राष्ट्रपति कार्यालयले शुक्रवार स्पष्टता खोजेको थियो।

"राष्ट्रपति कार्यालयले लेखेको पत्रका बारेमा हामीले छलफल गर्यौं र त्यहाँ उठाईएका जिज्ञासाहरुको सम्बोधन गर्दै पत्र पठाउने निर्णय गर्यौं, नियुक्ती प्रक्रियाका बारेमा केही जिज्ञासाहरु सोधिएको थियो र ती जिज्ञासा सम्बोधन भएका छन्"

माधवप्रसाद पौडेल, सरकारका प्रवक्ता एवं संवैधानिक परिषद्का सदस्य

पुराना व्यक्तीलाई ल्याउने संवैधानिक आधारबारे राष्ट्रपति कार्यालयले उठाएका प्रश्नहरु सम्बोधन गर्दै शनिवार जवाफी पत्र पठाइएको सरकारको भनाइ छ।

सम्बोधन

संवैधानिक परिषदले शनिवार गरेको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री एवं परिषद् सदस्य माधवप्रसाद पौडेलले भने, “राष्ट्रपति कार्यालयले लेखेको पत्रका बारेमा हामीले छलफल गर्यौं र त्यहाँ उठाइएका जिज्ञासाहरुको सम्बोधन गर्दै पत्र पठाउने निर्णय गर्यौं, नियुक्ती प्रक्रियाका बारेमा केही जिज्ञासाहरु सोधिएको थियो र ती जिज्ञासा सम्बोधन भएका छन्।”

यसअघि आयोगमा एक कार्यकाल बिताएकालाई पुन नियुक्ती गर्न सकिन्छ कि सकिदैन भन्ने बारेमा फरक फरक धारणा आएका थिए। परिषद्को यसअघिको निर्णय सही भएको पौडेलले बताए।

परिषद्ले यसअघि पठाएका नाममा भन्दा पनि प्रक्रियाका बारेमा राष्ट्रपति कार्यालयले जिज्ञासा उठाएकाले पुरानो नामावलीमा परिवर्तन गर्नु आवश्यक नरहेको पौडेलको भनाइ छ।

परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यावद, ईला शर्मा र रामभक्ता पिबी ठाकुरको नाम सिफारिस गरेको थियो।

उप्रेती आयोगका पूर्व कार्यवाहक प्रमुख हुन् भने दुई आयुक्तले पनि निर्वाचन आयोगमा काम गरिसकेका छन्। राष्ट्रपतिले स्वीकृत गरेपछि उनिहरुले काम शुरु गर्न सक्नेछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।